छक्का पञ्जा ३ ले पनि बनायो ५१औं दिनको रेकर्ड

प्रकाशित मिति:

मङ्सिर १७ काठमाडौं । हास्य सिरिज फिल्म छक्का पञ्जा ३ ले ५१औं दिन प्रदर्शनको रेकर्ड कायम गरेको छ। गत असोज २४ देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र बाहिरका १३ हलमा लगातार प्रदर्शन हुँदै ५१औं दिनको रेकर्ड कायम गरेको हो।

यसअघि पनि अघिल्ला सिरिजका छक्का पञ्जाले १ सय १ दिन र छक्का पञ्जा २ ले ५१औं दिन पार गरेका थिए। डिजिटल प्रविधि आएर लगातार तीन सिरिजले नै ५१औं दिन पार गर्ने फिल्ममा छक्का पञ्जा सिरिज नै पर्छ। यसका तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन्। कन्टेन विथ कमेडी भनिएको छक्का पञ्जाको तेस्रो सिरिजलाई दर्शकसँगै समीक्षकले पनि रुचाएका छन्।

अघिल्ला सिरिजका तुलनामा यसलाई सबैले प्रसंशा गरेका छन्। फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईं, शिवहरी पौडेल, शिशिर बाङ्देल, नीर शाह, किरण केसी, जयनन्द लामालगायतको अभिनय रहेको छ। यसमा कार्यकारी निर्माताका रूपमा जितु नेपाल र केदार घिमिरे रहेका छन्। अघिल्लो सिरिजझैं यसमा पनि सुमन गिरी ‘भान्जा’ र ताराचन्द्र बजगाईं ‘निशान’ निर्माता रहेका छन्।

‘मेरो यो सफलतामा धेरै सहयोगी हात हुनुहुन्छ। मेरो टिमले मलाई सहयोग गरेको छ नै, दर्शकमा पनि उत्तिकै आभारी छु। हामीले यसमा कमेडी विथ कन्टेन भनेर अगाडि बढेका थियौं, जसलाई दर्शकले झनै मन पराउनुभयो। यसले हामीलाई झनै उत्साह बढेको छ’ –निर्देशक दीपाश्री निरौलाले भनिन्। दीपकराज गिरीले फिल्मले आफूहरूलाई मात्र नभएर प्रदर्शक र वितरकलाई समेत खुसी बनाएको बताए।