विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चूडामणि ओलीसहित १४ जना रिहा हुँदै

प्रकाशित मिति:

काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’सहित १४ जना कार्यकर्ता रिहा हुने भएका छन्।सर्वोच्च अदालतले ओलीसहित नेता कार्यकर्तालाई छोड्न मंगलबार आदेश दिएपनि बुधबार मात्रै रिहा हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए।‘आजै सर्वोच्च अदालतले बाजुरा जेलमा रहेका आदर्शसहित १४ जनालाई छोड्न आदेश दिएको छ’, पुनले भने, ‘कागपत्र मिलाउनु पर्ने भएकाले भोलि (बुधबार) मात्रै सबै जना रिहा हुनुहुन्छ।’

ओलीबाहेक अरु रिहा हुनेहरू ब्यूरो सदस्य, जिल्ला र स्थानीय रुपमा नेतृत्व गर्ने कार्यकर्ता रहेका छन्।ओलीसहित विप्लव नेतृत्वका कार्यकर्तालाई प्रहरीले कात्तिक २२ गते २०७६ साल बाजुराको नौमुलेबाट पक्राउ परेका थिए। अझै सचिवालय सदस्य हेमन्तप्रकाश वली, केन्द्रीय सदस्य भरत बमसहित एक सय नेता कार्यकर्ता जेलमै रहेको पुनले बताए।

अरु नेता कार्यकर्ता तत्काल छोड्ने सहमति भएपनि ढिला भइरहेकोमा आशंका उत्पन्न गराएको बताए।