झविन्द्र भण्डारी, असार २३, गुल्मी ।
२०६६ साल असार २३ गते मंगलबार बर्खायामको समय वातावरण हरियाली मय थियो । गाउँका मानिस आआफ्नै कर्ममा व्यस्त थिए । बिहानको ७ बज्दै गर्दा एउटा अकल्पनीय खवरले हरियालीमय वातावरणमा एका एक सन्नाटा छायो । समाजसेवी, शैक्षिक, विकाशप्रेमी व्यक्तित्व परमानन्द भण्डारी हामी बिच रहनु भएन भन्ने सुन्दा, यो हुनै सक्दैन भन्दै हतार हतार धुर्कोट गाउँपालिका वडा नं. ५ वस्तु साविकको वस्तु २ लक्ष्मीनिवासमा पुगे । मनले भनिरहेको थियो भगवान् मैले सुनेको सव झुटो होस, हिजो मैले भेटेको अवस्थामा परमानन्द बुबालाई भेट्न पाउँ… लक्ष्मीनिवास पुग्दा मानिसको भिड आँगनको छेउमा बुबालाई राखिएको थियो । अझै पनि भित्री आशा उठ्नुहुन्छ, बोल्नुहुन्छ, सञ्चोहुन्छकी.. तर यि सबै मनका बिलौना मात्र थिए । दैवको लिला न रोक्न सकियो न समयलाई फर्काउन नै । तितो यथार्थलाई समर्पण गर्नै पर्ने वाध्यता थियो । आँखा कसैको ओभाना थिएनन् । शिक्षाको आधार ढल्यो, समाजको खम्बा ढल्यो, हरेक विहान बाबु भन्ने त्यो स्वर विलायो… म रोएको थिइन तर आखाँबाट आँशु अविरल बगिरहेका थिए । केही समय पछि बुबालाई अन्तिम श्रद्धाञ्जलीका लागि हिमालय माध्यमिक विद्यालयमा लगियो अनि भन्न बाध्य भए हार्दिक श्रद्धाञ्जली परमानन्द बुबा ।
एउटा संस्कार, चक्लेट पुरस्कार:
हिमालय माध्यमिक विद्यालयको स्थापना, धुर्कोट परमानन्द क्याम्पसको स्थापना, खानेपानी तथा विद्युतको विस्तार, सामाजिक कार्य प्रतिको जागरुकता समग्र धुर्कोट र गुल्मी जिल्लाको शैक्षिक र अन्य विभिन्न पूर्वाधारको विकास सँग जोडिएको नाम हो परमानन्द भण्डारी । अझ त्यसमा पनि धुर्कोट क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान त सायदै मुल्याङ्कन गर्न नसकिएला । मधुर स्वर, समान व्यवहार, हरेक काम प्रतिको जागरुकता र सकारात्मक सोच अनि समाज प्रति उहाँले हेर्ने दृष्टिकोण जुन हामी कैयौँ पुस्ता, पुस्तालाई सिकाउन र अनुसरण गर्न लायक छन । १९८४ साल बैशाख ३१ गते जन्मनुभएका परमानन्द भण्डारीको स्वर्गारोहण २०६६ साल आषाढ २३ गते भएको थियो । यो बिचमा केहि वर्ष उहाँका विभिन्न रचनात्मक क्रियाकलापहरुलाई म आफैले नजिकबाट नियाल्ने मौका पाए । उहाँबाट हामीले के सिक्यो आफ्नो ठाउँमा होला तर म प्रभावित भएको उहाँले सिकाएको संस्कारबाटै हो ।
साविकको धुर्कोट वस्तु २ मा रहेको लक्ष्मीनिवासमा रहेको उहाँको घर र मेरो घर नजिक हुनाले परमानन्द बुबाका विभिन्न कार्यहरु नियाल्न पाउँदा म आफुलाईु भाग्यमानी सम्झन्छु । सामाजिक, शैक्षिक व्यक्तित्व परमानन्द बुवा सधै बिहानी प्रहरमा करिव ६ वजे नै बिहानी पैदल यात्रा (Morning Walk) मा निस्कनु हुन्थ्यो । निस्कदा साविकको वस्तु ३ राताचौर, चिल्लाट हुदै कालिकास्थान तर्फ जानुहुन्थ्यो भने फर्कदा कालिकास्थान, चिल्लाट हुदै वस्तु २ देउराली तर्फबाट फर्कनु हुन्थ्यो । परमानन्द बुबा विहान हिड्ने समय, बाटो नजिकका सबै बालबालिकाहरुलाई पत्तो भइसक्थ्यो । बिहान उहाँ हिड्ने समयमा बच्चाहरु उठेर हात मुख धोएर सफा बनेर परमानन्द बुबालाई कुरिरहन्थे । बुबालाई देख्नासाथ सबैलाई नमस्कार गर्नको चटारो हुन्थ्यो । जवकी अगीपछी कसैलाई नमस्कार नगर्ने बिहान अवेर सम्म सुत्ने बालबालिकाहरु सवेरै उठेर बुबालाई देख्नासाथ नमस्कार गरिहाल्थे । त्यो नमस्कारको एउटा नियम थियो जो बालबालिका सफा भएर नमस्कार गर्छ उसलाई पुरस्कार स्वरुप चकलेटको व्यवस्था हुन्थ्यो । यो क्रम लामो समय सम्म चलि रह्यो । सुरु सुरुमा त म आफैेलाई जिज्ञासा लाग्यो तर पछि पत्तो पाए उहाँले केवल चकलेट मात्र बाड्नु भएको रहेनछ त्यो त एउटा संस्कार बाड्नु भएको थियो । यो त एउटा उदाहरण मात्र हो उहाँले सिकाउनुभएका यस्ता धेरै संस्कार र व्यवहारहरु हामीले अनुसरण गर्नुपर्नेछ ।
बालाबालिका आफ्नो घरपरिवारमा जस्तो संस्कार र व्यवहारमा हुर्किएका हुन्छन सोही अनुरुप घर भन्दा बाहिरी परिवेसमा उनिहरुको गर्ने व्यवहार निर्धारण भएको हुन्छ । भावि पुस्तालाई हामिले कस्तो शिक्षा दिदै छौ ? एक पटक सोच्न जरुरी छ । आजको मात्र नभएर भोलिको समाज शन्तुलिन, विवेकशिल बनाउन राम्रो शिक्षाले मात्र होइन राम्रो व्यवहार हुन आवश्यक छ । त्यसको सुरुवात घर परिवार, आफन्त, समाज र विद्यालय बाट नै हुनु पर्दछ । संस्कारले जिवनलाई संयमित र अनुशासित बनाउँछ भन्ने भाव स्वर्गीय परमानन्द बुबाको थियो ।
साविकको धुर्कोट वस्तुमा विद्युत वलेको १ दशक भन्दा बढी भइसक्यो यो क्षेत्रको विद्युतिकरणमा पनि उहाँको योगदान सम्झनलायक छ । जुन समयमा विद्युतको काम भइरहेको थियो । त्यो समयमा स्व.परमानन्द बुबाले भन्नु हुन्थ्यो “वस्तुका हरेक घर घरमा विद्युत बलेर उज्यालो भएपछी मात्र अन्त्यमा हाम्रो घरमा जोड्ने हो” तर दुर्भाग्य त्यो योजना सम्पन्न हुनै लाग्दा उहाँको स्वर्गाहोरण हुन पुग्यो । शिक्षाका क्षेत्रमा धुर्कोट क्षेत्रकै शैक्षिक धरोहर धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस जुन उहाँकै नामबाट छ त्यसको स्थापनामा उहाँले खेल्नुभएको भुमिकालाई कहिले विर्सने छैनौ । हिमालय माध्यमिक विद्यालय, यस क्षेत्रका अन्य विभिन्न विद्यालय, खानेपानी लगायतको विकास यि त केही सामान्य उदाहरण मात्र हुन । शिक्षामा होस या सामाजिक क्षेत्रमा यात विकासकै क्षेत्रमा किन नहोस उहाँले पहिल्याउनु भएको बाटो र सिकाउनु भएको संस्कार हामिले अनुसरण गर्नै पर्ने हुन्छ । गुल्मी जिल्लाकै शैक्षिक विकासमा उहाँको देन छ । स्व.परमानन्द बुबाले हामिलाई हस्तान्तरण गर्नुभएको सामाजिक, शैक्षिक, व्यवहारिक तथा विकासरुपी संस्कारलाई हामिले अनुसरण गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा लाग्नु पर्दछ । उहाँले देखेको सपनालाई साकार पार्न हामि जुरमुराउन आवश्यक छ । अन्त्यमा स्व. परमानन्द बुबाको आज परेको १२ औँ स्मृति दिवसमा हार्दिक श्रद्धासुमन ।