युरो कप : स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा

प्रकाशित मिति:

युरो कप अन्तर्गत मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जित हात पार्दै इटालीले फाइनलमा स्थान पक्का गरेको छ ।इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।इङ्ल्यान्डको वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

इटालीका लागि पेनाल्टीमा आन्द्रे बेलोट्टी, लियोनार्दो बोनुची, जर्जिन्हो र फेडेरिको बर्नार्डेस्कीले गोल गर्दा म्यानुएल लोकाटेली भने चुके ।लोकाटेलीको प्रहारलाई स्पेनका गोलरक्षक उनाइ सिमोनले बचाएका थिए ।पेनाल्टीमा स्पेनका जेरार्ड मोरिनो र थिएगो अल्कन्तराले गोल गर्दा डानिल ओल्मो र अल्भारो मोराटाले भने गोल गर्न सकेनन् ।ओल्मोको प्रहार पोस्टमाथिबाट बाहिरिँदा मोराटाको प्रहारलाई इटालियन गोलरक्षक जियानलुजी डोनारुम्माले बचाए ।

खेलको ६० औँ मिनेटमा फेडेरिको चेइसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।चेइसाले काउन्टर एट्याकमा सिरो इम्मोबिलेले उपलब्ध गराएको बललाई स्पेनिस डिफेन्डसले क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै गोल गरेका थिए ।खेलको ८० औँ मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोराटले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । उनले डानिल ओल्मोको पासलाई सदुपयोग गरेका थिए ।मोराटा खेलको ६२ औँ मिनेटमा फेरान टोरेसका स्थानमा मैदान प्रवेश गरेका थिए ।इटालीले उपाधिका लागि आइतबार इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।