कैलालीमा तीन वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन

प्रकाशित मिति:

कैलाली । जिल्लाको टीकापुरका तीन वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । दिदीसँगै जामुन खान गएका टीकापुर नगरपालिका १ ब्लक नं। ८ का दिलिप विष्टका छोरा विवेक सोमबार बिहान ११ बजेदेखि हराएको आफन्त बमबहादुर विष्टले जानकारी दिनुभयो ।

जामुन खाएर फर्किएका उनी नजिकैको आफन्तको घर जान्छु भन्दै गएका थिए । तर, उनी आफन्तको घरमै नपुगेको आफन्तले जनाएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तको आरोप छ ।‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं । दुई जना प्रहरीलाई मात्रै खटाए’ विष्टले भने ‘साँझ साढे ५ बजे आफैँ प्रहरी कार्यालयमा पुगेर डीएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको हो ।’

नाटकीय रूपमा नाबालक हराएपछि खोजी कार्यका लागि भन्दै सोमबार रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी टीकापुरमा खटिएका छन् । टीकापुर एसपी अधिकारीको गृहनगर हो । मंगलबार बिहान दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीले अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले नाबालकको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको बताउनुभयो । यद्यपि आफूहरू घटनाको अनुसन्धानमा रहेको उहाँको भनाइ छ । विवेक हराएपछि गाउँमा त्रास फैलिएको छ । आफन्तहरूले बालकको तत्काल खोजी गरिदिन प्रहरी समक्ष आग्रह गरेका छन् ।