लेडी विथ लिड

प्रकाशित मिति:

जेसिजको नेतृत्व हाँक्दै राधिका
अवसर पाए महिलाहरुले चुलो चौको भन्दा पर पुगेर सामाजिक जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने कुरा त धेरै तिरबाट पुष्टि भैसकेको छ । फरक यत्ति हो महिलाहरुलाई अबसर, साथ र महिलाहरुको इच्छा शक्ति जरुरी हुन्छ । महिलाहरुको व्यक्तित्व, क्षमता र सामाजिक बिकाशमा अग्रणी भुमिका खेल्न सफल बुटवल महिला जेसिसको नेतृत्व सम्हाल्ने मौका पाएकी तिनै सफल र सक्षम महिलाहरु मध्ये एक हुन् राधिका पोख्रेल ।
बुटवल महिला जेसिज जम्मा जम्मी ५१ जना को सदस्यको नेतृत्व हाँकेकी राधिकाको संख्याको हिसावले त्यो झुण्ड सानो होला तर बौद्धिक सर्कलको नेतृत्व आफैमा सानो भने होइन । आफु अध्यक्ष भइसकेपछि संस्थागत विकास, सदस्यहरुको क्षमता विकाश लगाएतका क्षेत्रमा उनको नेतृत्व अनुकरणीय छ । त्यो त उनको आफ्नै क्षमता विकाशको पाटो पनि धेरै बलियो बनेको छ । उनले कुनैपनि कार्यक्रम होस् या सभा राधिकाको मीठो बोली निर्धक्क बाहिर आउँछ । यसको श्रेय उनी नेतृत्वको सिकाई हुने संस्था जेसिजलाई दिन्छिन् ।
अर्घाखाँचीको छत्रगन्जमा स्व. टोपलाल खनाल र यशोधा खनालका ४ सन्तान मध्ये तीन दाजुभाईकी एउटी बहिनीका रुपमा जन्मिएकीे राधिकाले छत्रगन्ज कै श्री सार्वजनिक माविबाट एसएलसी उतिर्ण गरिन् । उनका ठुल्दाई पाल्पामा जागिरे भएकाले उनले त्यस पश्चात उच्च शिक्षा अध्ययनको गन्तव्य पाल्पा बनाईन् ।  शुरुमा आफ्नो स्वाभाव र वातावरणका हिसाबले अहिलेको जिम्मेवारी धेरै परको विषय भए पनि उनलाई सबै कुराले साथ दिँदै गयो । बुटवलका प्रतिष्ठित युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व गणेश चन्द्र पोख्रेलकी धर्म पत्नी राधिका उनै गणेशको र परिवारको साथले यो सिँढीमा उक्लिएको बताउँछिन् । सानैबाट राम्री अनि हंसिली राधिका त्यती बढी नबोल्ने शान्त स्वभावकी थिईन् । युवा अवस्थाकी उनलाई राम्रो केटा पाए विहे गरिदिने परिवारको ईच्छा थियो । राधिका भने यस प्रति चांसो दिँदैन थिईन् । उनकी ठुली भाउजुको माईतीघर जाँदा गएकी राधिकाको जीवनमा तिनै गणेश ठोकिए , उनले पहिलो पटकमै मन पराएछन् , गफमैं हाँस्दै त्यो रमाइलो दिनको याद गर्दै म संगको गफमा हांसिन् र राधिकाले थपिन् पहिलो चोटी माग्न जांदा नै चित्त बुझेपछि जिवनभरको साथी बनियो ।गणेश पहिलेबाटैै संघसंस्थामा सकृय रहिरहेका थिए । गणेशको यात्रामा ताल मिलाउंदै गरेकी राधिका पनि विभिन्न कार्यक्रमहरुमा सहभागी हुंदै गर्दा उनलाई पनि जेसिज प्रति लगाव हुन थाल्यो । महिला जेसिजमा आबद्ध अग्रजहरुले आग्रह गरेपछि जेसिजका केही कार्यक्रममा उनी सहभागी हुन थालिन् र सदस्य पनि बनिन् । त्यति बेला उनकै श्रीमान् गणेश चन्द्र पोख्रेल जेसिजका जिल्ला अध्यक्ष थिए । राधिका पनि सकृयताका साथ संस्थामा अगाडि बढिरहिन् । सन् २००९ मा हेण्डओभर कार्यक्रममा सहभागी भएपछि राधिकाको मनले भन्यो हो जेसिजले आत्मविश्वास बढाउन र थप उत्साहित बनायो । सन् २०११ मा फण्ड रेजिङ चियरमेन बन्न सफल उनी २०१२ मा भिपी बनिन् । निरन्तर जेसिसको यात्राले २०१५ मा उनलाई कोषाध्यक्षको पद सुम्पियो । २०१६ मा राधिका महासचिव भईन् , उक्त जिम्मेवारीले उनलाई हरेक कार्यक्रम सन्चालन गर्ने अभ्यासले उनलाई निडर भई बोल्न पनि हौसला मिल्यो । २०१७ मा राधिका चुनावी प्रकृयामा अध्यक्षमा प्रत्यासी बनिन् । २०१८ मा राधिकको स्थान बन्यो अध्यक्षको, जुन कार्यकाल पनि केही समयपछि सकिँदैछ । उनले अध्यक्ष बनिसकेपछि धेरै राम्रा कार्यहरु पनि गरेकी छन् । जसले समाजमै राम्रो प्रभाव पारिरहेको छ । विशेष होली मिलन कार्यक्रम देखि जितेश्वरी माविमा पाठ्यसामाग्री सहयोग, बुटवल माविमा शैक्षीक सामाग्री प्रदान, प्रभावकारी भाषण कला तालिम, बुटवल हिलर्पाकमा सरसफाई अभियान, जेसिज सप्ताहमा विभिन्न विद्यालयहरुमा छात्राहरुका लागि स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम, तीज मिलन कार्यक्रम,भूपू अध्यक्षहरुलाई सम्मान , मोतिपुर माविमा नि ःशुल्क स्वास्थ्य शिवीर लगायतका कार्यक्रम राधिकाको नेतृत्वले गरेको हो । कार्यकाल अवधिभरि उनलाई महिला जेसिजका संस्थापक अध्यक्ष सहित पूर्व अध्यक्षहरु कार्यसमिती र सबै सदस्यहरुले मिठो साथ र सहयोग दिईरहेको बताउने राधिका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई सम्मान व्यक्त गर्न चाहन्छिन् । कार्यकालको अन्त्य हुने समय नजिकिंदै गर्दा उनले एउटा राम्रो कार्यक्रम गर्ने मन पनि छ ।वि.स २०५९ सालमा बैबाहिक सम्बन्धमा बाँधिएको राधिका र गणेशको जोडी सामाजिक काममा मात्र होइन व्यवसायमा पनि उत्तिकै सहकार्य गरेर अगाडि बढिरहेको छ । एक छोरी र एक छोरा की राधिका परिवारमा पनि उत्तिकै जिम्मेवार भएर समय दिन्छिन् । कक्षा ९ मा अध्ययनरत छोरी र कक्षा ८ मा पढ्ने छोराको साथले उनको जिवन खुशिमय बितेको छ ।
पक्कै पनि महिलाहरुमा पारिवारिक जिम्मेवारी ठुलो छ तर परिवारको साँघुरो घेरा भन्दा बाहिर पुग्नुपर्ने उनको तर्क छ ,‘घरको काम त गर्नै पर्यो’ घरमै बस्ने गृहिणीहरुलाई राधिकाको सुझाव छ ‘घरको काम भ्याएर पनि कुनै संघसंस्थामा आबद्ध भई अघि बढ्न सके आफू खुशी त भईन्छ नै परिवारलाई समेत खुशी बनाउन सकिन्छ , त्यसले आफ्नो क्षमताको अभिवृद्धिमा सघाउ समेत पुराउँछ ’ ।