आँधीखोला उर्लिएपछी तटीय क्षेत्रमा जोखिम

प्रकाशित मिति:

२४ असार, स्याङ्जा । आँधीखोलामा आज बाढी गएको छ । हिजोबाट अविरल रुपमा परेको पानीका कारण यतिबेला खोलामा पानी भरिभरराउमात्र भएको छैन, भेल खोला किनारका बस्ती र खेतहरुमा समेत पस्न थालेको छ ।

अन्धाअन्धीबाट सुरु भएर कालीगण्डकीमा मिसिने आँधीखोलामा पानीको सतह आज ह्वात्तै बढेको छ । केही दिन यता लगातारजसो परेको पानीका कारण आँधीखोलामा पानीको सतह बढ्दै जाँदा खोला किनारमा बस्ती हुनेहरुलाई रातभरि निद्रा लागेको छैन भने किसानहरुले भर्खरै रोपेको खेतहरुमा पनि बाढीले गम्भीर क्षति पुर्‍याएको छ । ठाडा खोलाहरुले ल्याएको लेदोसहितको बगरे माटोले खेतहरु पुरिएका छन् । विभिन्न ठाउँमा खनेका कच्ची सडकका कारण माटो बगेर खोलामा मिसिएको स्थानीयहरुले बताएका छन् । खोलामा माटोसहित लेदो मिसिएपछि खोलाको शक्ति बढिरहेको छ भने पानी पर्ने क्रम खासै रोकिएको छैन । बढ्दा खेत र बस्ती वरिपरि पुर्ने र घट्दा कटान गर्ने स्थिति देखिएको छ ।

आँधीखोलामा मिसिन आइपुग्ने विभिन्न ठाडा खोलाहरुले खेतमा पानी लैजाने कुलाहरु बगाएको छ भने धान खेत पुरेको छ । आँधीखोला ५ का डिल्लीरमण पौडलले भने, ‘अस्ति तीन दिन अगाडि खर्च गरेर खेत रोपियो हिजो आएको बाढीले खेतको धान जति सबै पुरिदियो ।’ कति ठाउँमा स्कुल तथा गाउँ नजिकै पहिरो गएर जनताहरु समस्यामा परेको देखिएको छ । खोलाको धारले तटबन्धनका लागि हालेका जालीहरु पनि ठाउँठाउँमा कटान गरेको छ ।

आँधीखोला ५ सेतीदोभानको बस्ती पनि बढ्दो बाढीसँगै जोखिममा पर्ने हो कि भन्ने चिन्ताले स्थानीय समस्यामा परेको आँधीखोला ५ का युवा अनिल ढकालले बताए । उनले भने, ‘राति ठूलो पानी पर्दा मेलम्चीको झल्को आउँछ अनि यहाँ पनि बाढी आउँछ कि भनेर चिन्ता लाग्छ ।’ सेतीदोभान ६ का गणेश ढकाल भन्छन्, ‘खोला किनारमा घर हुनेलाई ठूलो पानी आउँदा निकै चिन्ता हुँदोरहेछ । रातभर सुतिएको छैन । टिभीमा मेलम्चीको हालत देखेपछि त झनै डर लाग्न थालेको छ ।’ अविरल वर्षासँगै रङगुवा खोलो, सरादी खोलो, जाइखोलो, पातीखोलो जस्ता ठाडा खोला उर्लिएर आएका छन् भने ती उर्लिएका खोलाको पानी आँधीमा मिसिँदा आँधी झनै उर्लिएको छ । फेदीखोलाबाट आँधीमा मिसिन आउने सेतीखोला पनि बढेर ठूलो भएको छ । सेतीखोला र आँधीखोला मिसिएर स्याङ्जा हुँदै बग्ने आँधीखोलाले तल्लो तटीय क्षेत्रमा जोखिम बढाइरहेको छ ।