अटिष्टिकका लागि अटिजम केयर सोसाईटी

प्रकाशित मिति:

नेपालमा करिब ३ लाख बच्चाहरुमा अटिजम देखिएको पछिल्लो तथ्याङ्कले देखाउँछ । अटिजम भएका बालबालिकालाई सामान्य विद्यालयमा अध्यापन गराउने वातावरण सहज नहुने भएरै अटिजम केयर सोसाईटी नेपाल स्थापना भएको थियो । देशको जनशक्ति र विविध कुराले देशैभरिका बच्चाहरु त्यहाँ लानु पनि सम्भावना भन्दा बाहिर भयो । अटिजमसँग सम्बन्धित अहिले विभिन्न स्थानमा केयर सोसाईटीहरु रहेका छन् । यसै क्रममा अटिजम केयर सोसाईटी लुम्बिनी बुटवलमा २०७४ साल फाल्गुणमा स्थापना भई सेवा दिइरहेको छ । यस संस्थाले अटिजमसँग सम्बन्धित बिषयमा जनचेतना जगाउने र अटिष्टिक बालबच्चाहरुलाई उनीहरुले सिक्न सक्ने विधिबाटै अध्यापन गर्ने र सिकाउने कार्य गरिरहेको छ । बाबु नानीलाई अध्यापन गर्न पहिले त घरकै अभिभावकले कम्तिमा प्यारेन्ट चाईल्ड टे«निङ« प्रोग्राम तालिम लिएको हुनुर्पछ ।

अटिजम भएका बालबालिकाका अभिभावकले आफ्नो बच्चामा अटिजम छ भन्ने थाहा पाएर तालिम लिन र बच्चाहरुलाई सोही अनुसारको वातावरणमा अध्यापन गर्न नचाहेका होईनन् तर रुपन्देहीमा संस्था स्थापना भएपनि चाहिने जति जनशक्ति अभाव र भवन को समस्याले खुम्चिनुपरेको बाध्यता छ । डाक्टर सतिश रुपाखेतीको अध्यक्षतामा रहेको संस्थामा एकमात्र राधा भण्डारी प्यारेन्ट चाईल्ड तालिम प्राप्त जनशक्ति छन् । उक्त संस्थालाई अघि बढाउन र अटिजमको चेतना सबैमा पुर्याउन पहल गरिरहेका यस संस्थामा जोडिएका हरुलाई सहयोग आवश्यक देखिन्छ । यसले अटिजम भएका बालबालिकाका अभिभावकलाई तालिम समेत दिने, अटिजम भएका बालबालिकाको सामाजिक हकहितका लागि संर्घष गर्ने, समान उद्धेश्य भएका संस्थाहरुसँग समन्वय गरेर कार्यक्रम गर्ने, जनचेतना जगाउने संस्थाले उद्धेश्य बोकेको छ ।

के हो अटिजम ?
अटिजम जन्मजात आउने एक मानसिक तथा बौद्धिक अवस्था हो जसबाट प्रभावित बालबालिका एवं व्यक्तिहरुको नशा र तन्तुको विकासको क्रममा भएको असन्तुलनले मस्तिष्कको स्वभाविक विकासमा अवरोध उत्पन्न हुन्छ ।यस्तो अवस्थाबाट प्रभावित बालबालिका र व्यक्तिहरु अन्य सामान्य व्यक्ति सरह बोलचाल गर्ने, घुलमिल हुने, दैनिक जिवनका सामान्य समेत कार्य गर्न असक्षम भई अरुको सहायतामा जिवनयापन गर्न बाध्य हुन्छन् ।अटिजमलाई नयूरो डेभलपमेन्ट अपाङ्गता भनिन्छ । यो बच्चा जन्मेको १४ महिनादेखि ३ वर्षको उमेर भित्र सम्म पहिचान गर्न सकिन्छ । र यो जीवनभर रहन्छ । अटिजम एउटा जटिल प्रकारको अपाङ्गता हो । किनभने यो शारिरीक रुपमा देखिंदैन । अटिजम भएका हरेक व्यक्ति फरक फरक हुन्छन् ।त्यसैले यसलाई अटिजम स्प्रेक्टम डिसअर्डर पनि भनिन्छ ।अटिजम रोग होईन र यसलाई निको पार्न ठोस औषधी पनि छैन । अटिजम भएका व्यक्तिहरुलाई आवश्यक पर्ने मुख्य सहयोग भनेकै शिक्षा र थेरापी हो । थेरापीले सन्चारको बिचलन, सामाजिक शिप दोहोर्याएर गर्ने व्यवहारलाई सुधार गर्न टेवा पुर्याउँछ ।

अटिजम स्प्रेक्टम भएका व्यक्तिहरुले उनीहरुबाट के अपेक्षा गरिन्छ भनेर निश्चित निर्देशन चाहिन्छ र उनीहरुले संधै गर्नुपर्ने कुराको तालिका पनि चाहिन सक्छ । अटिजम भएका बाबुनानीहरुको नतिजामा सुधार ल्याउनको लागि अभिभावक तथा प्रशिक्षकहरुले उनीहरुको व्यक्तिगत विशेषताहरुको ख्याल गर्नुपर्दछ ।अटिजम भएका व्यक्तिलाई फरक फरक खालको दृष्यात्मक सहयोग आवश्यक पर्छ । अटिजम भएका बालबालिकाहरुलाई जति सक्दो सानो उमेरमा आवश्यकता अनुसार शिक्षा र थेरापी प्रदान गर्न सकियो त्यति नै उनीहरुमा भाषा, बौद्धिक क्षमता, सामाजिक सिप जस्ता पक्षहरुको विकासमा ठूलो सहयोग पुग्छ ।