वीरगन्जका मेयर भन्छन्: नेपाल-भारत सीमामा तस्करी रोक्नै सकिन्‍न

प्रकाशित मिति:

वीरगन्जः वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नेपाल-भारत सीमामा हुँदैआएको तस्करी पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् ।बिहीबार वीरगन्जमा मानव अधिकार पत्रकार संघले आयोजना गरेको नेपाल-भारत सीमा क्षेत्रका समस्या विषयक अन्तरक्रियामा सरावगीले यस्तो बताएका हुन् ।तस्करी पूर्ण रुपमा बन्द गरियो भने आपराधिक गतिविधि बढ्ने उनले बताए । उनले भने,‘दुवै देश बीच खुला सीमा छ, सीमा क्षेत्रका नागरिकको जीवीकोपार्जन वारिपारीको बजारसँग जोडिएको छ, त्यसैले कसैले चाहेर पनि तस्करी पूर्ण रुपमा रोक्न सकिँदैन, यदी तस्करी पूर्ण रुपमा बन्द गर्न खोजियो भने अपराध बढ्छ ।

गैरकानूनी कारोवारको लागत र कानूनी कारोवारको लागत बराबर नहुँदासम्म तस्करी नरोकिने बताए । सरावगीले दुई देशबीचको राजनीतिक सम्बन्ध बिग्रएको भन्दै यसको कारणमा दुवै देशका मिडिया पनि जिम्मेवार रहेको आरोप लगाए ।वीरगन्जमा रहेको भारतीय महावाणिज्यदूतावासले पनि दुई देशीय व्यवपार र वाणिज्यमा सहजीकरण गर्नुका सट्टा राजनीतिमा बढी चासो राखेका कारण पनि दुई देशबीच सम्बन्धमा असर परेको उनले बताए ।सरावगीले भने,‘दुई देशबीच हुने वाणिज्य र व्यपारमा सहजिकरण गर्ने उद्देश्यले भारत सरकारले वीरगन्जमा महावाणिज्यदूतावास राखेको हो तर उसको चासो राजनीतिक क्षेत्रमा मात्रै केन्द्रित भएको देखिन्छ ।

उनले दुई देशका नागरिकबीच सम्बन्ध चाहेर पनि बिगार्न नसक्ने दावी गरे । उनले भने,‘दुई देशका नागरिकबीच सम्बन्ध हिजो पनि राम्रो थियो, आज पनि राम्रो छ र भोलिका दिनमा पनि राम्रै रहनेछ, जुन शासन सत्ता आए पनि यो सम्बन्धमा केही फरक पर्नेवाला छैन ।