काठमाडौं । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधान उन्मुख भइरहेको नेताहरुको दाबी छ । केही दिनयता कार्यदल व्यूँताएर एमालेले एकताको प्रयास गरिरहेको छ ।कार्यदलको बैठकमा सदस्यहरुबीच सहमति नजिक पुगेको बताइएका बेला बुधबार अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट समूहका नेता तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भयो ।सो भेटवार्तापछि बिहीबार दिउँसो कार्यदलको बैठक बसेर बेलुकासम्मका लागि स्थगित गरिएको छ । कार्यदलमा रहेका नेताहरु विवाद समाधानको सहमति नजिक पुगेको बताइरहँदा संस्थापन समूहमा भने खैलाबैला मच्चिएको छ, कारण बन्यो नेपाल नेपालको मागले ।
माधव नेपालको ओलीसँग गरेको मागको चर्चा गर्नु अघि नेपाल समूहले पार्टीलाई माओवादी एकताअघिको अवस्थामा लैजानुपर्नै बताउँदै आएको कुरा स्मरण गराउनु आवश्यक हुन्छ । पार्टीलाई माओवादी एकता अघि अर्थात २०७२ जेठको अवस्थामा लैजानु पर्ने नेपाल समूहले सार्वजनिक रुपमा संस्थापन समूहसँग गरेको माग हो ।तर, बुधबार होटेल मेरियटमा भएको भेटमा नेता नेपालले आफूलाई पार्टीभित्रको निर्णयदेखि पत्राचारमा समेत अध्यक्ष ओलीसँगै आफ्नो हस्ताक्षर चलाउनुपर्ने औपचारिक निर्णय गर्दै शक्ति बाँडफाँट गर्नुपर्ने माग गरेका छन् ।
२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने बताएका नेता नेपालले अहिले सो माग गरेपछि संस्थापन समूहमा खैलाबैला मच्चिएको छ । २०७१ असारमा भएको पार्टीको नवौँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग पराजित भएका नेता नेपालले अहिले समान हैसियत खोजेर अराजनीतिक र अनैतिक माग राखेको ओली समूहका नेताहरुको बुझाइ छ ।२०७५ जेठ २ को अवस्थामा पार्टी लैजाने नेपाल समूहकै मागले पनि नवौँ महाधिवेशनबाट निर्वाचित र चयन भएका पदाधिकारी र सदस्यहरुलाई सक्रिय बनाउने र सोहीअनुसार जिम्मेवार वहन गराउने र पार्टीका अवयवहरुलाई चलायमान गराउने हो । तर नेता नेपालले निर्वाचित अध्यक्ष ओलीकै बराबर हैसियत खोज्नु दुःखद् भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
पार्टी र सरकारमा शक्ति बाँटफाँट गरेर प्याकेजमा सहमति हुनुपर्ने आफ्नो बटम लाइन रहेको नेता नेपालको मागले एमाले एकता संकटमा पर्ने हो कि भन्ने चिन्ता वार्ता र कार्यदल सदस्यहरुमा रहेको देखिन्छ ।साथै एक व्यक्ति एक पद पार्टीको नीतिअनुसार नेता नेपालले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एउटा रोज्न दबाब दिएका छन् । ति नेताकाअनुसार अहिले दुवै समूह सहमतिमा पुगेको छ, तर नेता नेपाललाई सहमतिमा ल्याउन मात्रै गाह्रो भएको हो ।नेपाल समूहका अधिकांश नेताहरु पार्टीलाई एकताबद्ध गरेर अघि बढ्न र भइरहेका छलफलमा गरिएको प्रस्तावमाथि समर्थन जनाइसकेका छन् । उनीहरुले आफ्नो समूहका नेता नेपाललाई मनाउन प्रयास गरिरहेका छन् ।