चीनबाट ल्याइयो कोरोनाको आठ लाख डोज खोप

प्रकाशित मिति:

काठमाडौं, असार २५ : कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको आठ लाख खोप नेपाल आइपुगेको छ। शुक्रबार बिहान नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खोप ल्याएर नेपाल आइपुगेको हो। पहिलो चरणमा आठ लाख डोज खोप आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

बेइजिङबाट आएको जहाज आज बिहान ६ः१६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। पहिलो चरणमा आठ लाख डोज खोप आएको हो। दोस्रो चरणमा असार ३१ गते र तेस्रो चरणमा साउन ७ गते फेरि वाइडबडी जहाज चीन जाने क्षेत्रीले बताए। नेपालले चीनको सिनोफार्मसँग भेरोसेल खोप खरीद गरेको छ। त्यसमध्ये पहिलो खेपमा आठ लाख डोज खोप आएको हो।

आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अर्को सातादेखि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। अहिलेसम्म नेपालमा ४२ लाख ४८ हजार डोज खोप आएको छ। जसमध्ये २६ लाख ११ हजार आठ सय सात जनालाई पहिलो डोज र आठ लाख ५१ हजार तीन सय जनालाई दोस्रो डोज लगाइएको छ।