अमेरिकाले नेपाललाई १५ लाख डोज भ्याक्सिन दिने

प्रकाशित मिति:

काठमाडौँ-अमेरिकाले नेपाललाई १५ लाख मात्रा जोन्सन एण्ड जोन्सनका कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । रोयटर्सका अनुसार, अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई ५ लाख मोडर्ना खोप दिन लागेको हो ।ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले बाइडेन प्रशानसनले ८ करोड मात्रा खोप उपलब्ध गराउने प्रतिवद्धता अन्तर्गतकै खोप सहायता भएको उल्लेख गरेको छ । अमेरिका लगायत विकसित राष्ट्रले खोपको आपूर्तिमा हुने असमानता र विभेद न्यूनीकरणका लागि भन्दै यो सहायताको घोषणा गरेका हुन् ।

गत साता, बाइडेन प्रशासनले १० लाख मात्रा फाइजर र बायोएनटेक खोप मलेसिया र ४० लाख मोडर्नाको खोप इण्डोनेसियामा पठाउने योजना घोषणा गरेको छ । अमेरिका र चीनले खोप कूटनीतिका माध्यमबाट भूराजनीतिमा प्रभाव विस्तार गर्न खोजिरहेको रोयटर्सले उल्लेख गरेको छ । यद्यपि उनीहरूले कुनै सद्भाव आर्जन गर्न नभइ, महामारीबाट जीवन बचाउन यो पहल शुरु गरेको दाबी गर्दै आएका छन् ।

अमेरिकाले एसियामा फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्यू गिनी र कम्बोडीयामा खोप पठाउने योजना घोषणा गरिसकेको छ । त्यस्तै वासिङ्गटनले ८ करोड मात्रा खोपका अतिरिक्त ५० करोड मात्रा फाइजर र बायोएनटेकका खोप खरिद गरेर अफ्रिकी संघ तथा ९२ ओटा न्यून र निम्न मध्यम आय भएका मुलुकमा वितरण गर्ने उल्लेख गरेको छ ।