नेकपा एमालेमा देखिएको लामो विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएको छ। शुक्रबार दिनभर करिब ७ घण्टासम्म भएको छलफलपछि दुई पक्षले सहमति जुटाएका हुन्। दुई समूहबीच विवाद मिलाउँदै पार्टी एकताका लागि जेठ २ मा गठित कार्यदलको आजको बैठकले एमाले विवाद निरुपणका उपाय निकालेको हो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ओली पक्षीय नेता प्रदीप ज्ञवालीले पार्टी एकता बचाइ राखेर अघि बढ्ने विषय करिब टुंगोमा पुगेको जानकारी दिएका छन्।‘आजको बैठकमा हामीबीच लामो र सौहार्दपूर्ण छलफल भयो। दिनभर चलेको बैठकबाट पार्टीलाई एकतावद्ध बनाउने कुरामा सहमति जुटेको छ’, उनले भने, ‘हामी सहमतिमा पुगिसकेकाले अब शीर्ष दुई नेताबीच हस्ताक्षर हुन मात्रै बाँकी रहेको छ।’
ज्ञवालीले आज दिनभर सहमतिको मस्यौदामा छलफल भएर कुरो मिलेको उल्लेख गरे। ‘अब सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन लागेका छौँ। केही प्राविधिक कुरा र भाषिक संशोधनका लागि भोलि पनि हामी जुट्नेछौँ’, उनले भने, ‘सहमतिका बुँदा अहिले नै भनिहाल्न हतार हुन्छ। त्यसका लागि तपाईंहरुले एक दिन कुरिदिनुस्।’बैठकपछि पत्रकारहरुसँग बोलेका वरिष्ठ नेता नेपाल पक्षीय नेता गोकर्ण विष्टले पनि कार्यदलले करिब सहमति जुटाइसकेको बताएका छन्। उनले बाँकी रहेका सानातिना विषयमा भोलि बसेर कुरा मिलाइने उल्लेख गरेका छन्।‘केही प्राविधिक र साना विषयमा छलफल भएको छैन। हामी भोलिसम्म सबै विषय मिलाइसक्छौँ’, उनले भने, ‘आज दिनभर एकताको सार टुंगोमा पुर्याएका छौँ। अब केही विषय बाँकी छन्, ती पनि भोलि मिलिसक्छन्। अन्य मूल विषयमा सहमति भइसकेको छ। अब एमालेलाई हामी एकतावद्ध बनाएर अगाडि बढाउँछौँ।’
त्यस्तै कार्यदलका सदस्य एवम् लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पनि सहमतिको आधार बनिसकेको बताए। उनले केही विषयले आजै सहमति नभएकाले भोलि टुंगोमा पुग्ने जानकारी दिएका छन्।कार्यदलमा एमाले संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, शंकर पोखरेल छन्। उता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, रघुजी र गोकर्ण विष्टसहित छन्।बिहीबार बसेको बैठकमै नेताहरुले सहमति हुने बताएका थिए। तर एकताको सारलाई आजको बैठकले टुंगोमा पुर्याएको हो। कार्यदलले सहमति जुटाएपछि अब भोलि या पर्सि ओली-नेपालले सहमतिको पत्रमा हस्ताक्षर गर्ने छन्।