गुल्मीको जुभूङमा चोर पस्यो  वडा कार्यालय देखि विद्यालय र व्यक्तिको घरमा चोरी

प्रकाशित मिति:

प्रविण गाहा/गुल्मी, २५ असार-गुल्मीको साविक जुभूङ गाविसमा बिहीवार राती वडा कार्यालय, विद्यालय र निजी घरमा चोरी भएको छ । गुल्मीदरवार गाउंपालिका वडा नं. २, जुभूङको वडा कार्यालय, सुर्योदय माध्यमिक विद्यालय हटिया, महाकाली आधारभुत विद्यालय ठुलाचौर र केही निजी घरमा ताला फोडी चोरी भएको हो । सुर्योदय माविबाट करिव १० हजार नगद चोरी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष गौतमले जानकारी दिनुभयो । विद्यालयमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको दृश्यमा एक जना व्यक्तिले हातमा पञ्जा, ताला फोड्ने रड, घन प्रयोग गरी चोरी गरेको विद्यालयका प्रधानाध्यापक गौतमको भनाई छ । रातको एक बजेको आसपासमा चोरी भएको सिसिटिभीमा दृश्य कैद भएको छ ।

त्यस्तै ठुलाचौरमा रहेको महाकालीबाट करिव १५ हजार चोरी भएको विद्यालयका प्रधानाध्यापक कुलानन्द गौतमले जानकारी दिनुभयो । पुरानो र नयांभवनमा रहेको कार्यालय फोडी चोरी गरेको पाइएको छ । त्यस्तै वडा कार्यालयको ताला फोडी दराज समेत फोडेको पाइएको छ । कार्यालयमा नगद नराखिएको हुदा चोरी हुन नपाएको वडा अध्यक्ष हरिहर गौतमलेजानकारी दिनुभयो । कागजपत्र र अन्य सामाग्री चोरी नभएको वडा अध्यक्ष गौतमकोभनाई छ । उहांका अनुसार अन्य केही व्यक्तिको घरबाट नगद चोरी भएको छ । कसैको घरमा ताला मात्र फोडेको पाइएको छ । हटियामै चुर्न प्रसाद श्रेष्ठको दुई थान मोवाईल, उर्लाकोटमा तिल बहादुर रजालीको किराना र नास्ता पसलबाट करिव नौं हजार चोरी भएको स्थानिय शिक्षक कमल सारुले जानकारी दिनुभयो । विद्यालयमा भर्ना अभियान चलेको र असार मसान्तमा वडामा आर्थिक क्रियाकलाप हुने हुदा चोरी गर्नेको निशानामा विद्यालय र वडा कार्यालय परेको हुन सक्ने स्थानियको आशंका छ । नगद मात्रै चोरको निशानामा पर्नुले घटना योजनावद्व भएको हुन सक्ने आशंका गरिएको छ । कार्यालयमा रेहका कागजपत्र र ल्यापटप जस्ता महत्वपुर्ण विद्युतिय साधन भने सुरक्षित रहेको छ ।

जुभूङमा हरेक वर्ष चाडपर्वको आसपासमा चोरी हुने गरेको छ । केही वर्ष अघि हटियामा होटल व्यवसाय गरी बस्ने नेवार राईला÷राईली उपनामले परिचित बृद्व दम्पत्तीलाई बन्धक बनाई ठुलो परिमाणमा सुन र नगद चोरी भएको थियो । होटलमा ग्राहक बनेर रातको बास बस्न आएका व्यक्तिबाट चोरी भएको थियो । हाल दम्पत्तीको देहवसान भैसकेको छ । हरेक वर्ष साना-ठुला चोरी हुने तर चोरीमा संलग्नलाई पक्राउ गर्न प्रशासन असफल हुंदा यस्ता घटना दोहोरिने गरेको छ । चोरी डकैती नियन्त्रण गर्न हरेक व्यक्ति चनाखो भएर ख्याल गर्नु पर्ने वडा अध्यक्ष गौतमको भनाई छ । उहांले समाजमा हुने यस्ता क्रियाकलाप रोक्न सबैले आ–आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।