पार्टी एकतालाई सुदृढ गर्ने सहमति भयो : प्रदीप ज्ञवाली

प्रकाशित मिति:

काठमाडौं । पार्टीको विवाद समाधानका लागि बनेको एमालेको कार्यदलले पार्टी एकतालाई सुदृढ गर्ने सहमति गरेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले एकतालाई जोगाउन सहमति गरेको एमालेका प्रवक्तासमेत रहेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

“आजको बैठकमा सघन छलफल भयो । झण्डै सात घण्टा छलफल भयो । बैठकबाट हामी पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा सहमतिमा पुगेका छौँ । सहमतिको दस्ताबेजलाई अन्तिम रूप दिन एकछिन बस्नुपर्ने भएकाले हामीले भोलिसम्मका लागि बैठक स्थगित गरेका छौँ,” उनले भने ।एमालेको भविष्य के होला भन्ने बारेको चिन्तालाई दुर गर्नेगरी आफूहरूले सहमति गरेको ज्ञवालीको भनाइ छ ।

तर, के–के विषयमा सहमति भयो भन्ने उनले खुलाएनन् । गत बुधबार राति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता भएको थियो । तर पावर सेयरिङुमा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको थियो । कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक रहेको बताइरहेका छन् ।