भोलि बिहान ८ बजे एमाले एकताको औपचारिक घोषणा: नेम्बाङ

प्रकाशित मिति:

काठमाडौं स् सोमवारयता नेकपा (एमाले)का नेताहरु लगातार वार्तामा छन्। सहमतिमै पुगिसकेको भएपनि विवादको टुंगो नै भने लागिसकेको छैन। विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुले शुक्रवार नै सहमति सार्वजनिक गर्ने घोषणा गरेका थिए। तर, शुक्रवारको कार्यदलको सिंहदरवारको बैठक पनि टुंगोमा पुगेन।

कार्यदलका नेताहरुले आइतवार एमाले भित्रको विवाद समाधान भएको घोषणा हुने दाबी गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलको संयोजक रहेका नेता सुवास नेम्बाङले आइतवार बिहान ८ वजे नै एमाले सहमति भएको औपचारिक घोषणा हुने दाबी गरे। उनले कार्यदलले वार्ता टुंग्याएको दाबी गरेका छन्।‘हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ वजे तपाईँहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ। सबै सहमति भोलि भन्ने छ,’ उनले भने।

उनले एमाले विवाद समाधानका लागि आफूहरुले गरिरहेको पहलले ढिलाइ नभएको बताए। शुक्रवारको वार्तापछि सहमतिको खाका बनेको भएपनि भाषा नमिलेको भन्दै शनिवार एकता घोषणा हुने कार्यदलका नेताहरुले बताएका थिए। नेम्बाङले शनिवार भने सहमतिको खाकामा भाषा पनि मिलिसकेको दाबी गरे।केही समयअघि ओलीले नेपाललाई भेट्न चाहेको भए पनि नेपालले अस्वीकार गरेका थिए। तर, बुधवार दुई नेतालाई कार्यदलका नेताहरुले होटल मेरियटमा भेट गराएका थिए। फेरी सहमति घोषणाअघि पनि ओली-नेपालबीच भेट हुने नेताहरुको भनाइ छ। नेम्बाङले पनि एकता भएपछि भेट्नु ठूलो कुरो नभएको प्रतिक्रिया दिएका छन्।‘अब पार्टी सबै एक भएपछि त उहाँहरु २४ सैँ घण्टा भेट्नु हुन्छ नि,’ उनले भने।यसअघि नेपाल समूहका तर्फबाट कार्यदलमा सदस्य रहेका नेता गोकर्ण बिष्टले पनि सहमतिको नजिक पुगेको बताएका थिए।