शीतल निवासमा एक घण्टा बिताएर फर्किए प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शनिबार पौने ६ बजे शीतल निवास पुगेका थिए। एक घण्टाको छलफलपछि प्रधानमन्त्री ओली पौने ७ बजे शीतल निवासबाट बाहिरिएका छन्।

यो नियमित भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ। एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदल सहमति जुटाउन शनिबार पनि असफल भएका बेला प्रधानमन्त्री ओली राष्ट्रपति निवास जानुलाई चासोका साथ हेरिएको छ।

उता प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको फैसला आउने समय पनि नजिकिँदै गएको बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट भएको छ। आगामी सोमबार सर्वोच्चले फैसला गर्ने सम्भावना छ। बहस सकिएर मुद्दा हेर्दाहेर्दैमा छ। सोमबारका लागि पेशी तोकिएको छ।