प्रदेश सांसद मल्ल बाँदर धपाउन आफै किसानको खेतमा

प्रकाशित मिति:

२६ असार, स्याङजा । नेपालमा बाँदर आतङ्क पछिल्लो समय एउटा गम्भीर समस्या बनेको छ । पहाडी भेगमा किसानले दुःख गरी लगाएका अन्नबाली बाँदरले सखाप पारिदिँदा किसानहरु चिन्तित भएका छन् । खासगरी किसानले लगाएका मकै बाली पाक्ने बेलामा बाँदरले खाने र बिगार्ने गरिदिँदा किसानको मिहिनेत बालुवामा पानी भइरहेको छ । अहिले स्याङ्जा जिल्लामा पनि बाँदर आतङ्क किसानका लागि ठूलो टाउको दुखाइको विषय बनिरहेको छ । मकैमात्र होइन, तरकारी बालीमा समेत बाँदर आतङ्कले असर पारेको छ । बाँदरले खानेभन्दा पनि च्यात्ने र बिगारेर छाड्ने भएकाले धेरै मकै तथा अन्नबाली र तरकारीमा ठूलो नोक्सानी हुने गरेको किसानहरुको भनाइ रहेको छ ।

पछिल्लो समय गल्याङका किसानहरु बाँदरको वितण्डा भोग्न विवश बनेका छन् । गल्याङका विभिन्न क्षेत्रहरुमा किसानले लगाएको अन्नबाली बाँदरका हुलहरु पसेर सखाप पारेको किसानहरुले बताएका छन् । गल्याङ नगरपालिका वडा नं १० सिमलसौरामा कृषकहरुले आफ्नो करिब १५ रोपनी खेतमा लगाएको मकै बाँदरले पूर्ण रुपमा क्षति पुर्‍याएपछि स्थानीयले प्रदेश सांसद भागवत प्रकाश मल्ललाई निरीक्षण गरिदिन आग्रह गरेपछि सांसद मल्ल आफै बाँदरको निरीक्षणमा पुग्नुभएको छ । किसानले प्रत्यक्ष रुपमा बाँदरको आतङ्क देखाउनका लागि सांसद मल्ललाई बोलाएको स्थानीय एक किसानले बताउनुभयो ।

सोही ठाउँका किसान कुलानन्द खनालले भन्नुभयो, ‘सांसद नै खेतखेतमा कान्ला कान्लामा हामीसँगै बाँदर धपाउन हिँडेको देख्दा खुसी लाग्यो । राजनीति गर्नेहरुले किसानका समस्या नबुझेर नै देशको विकास नभएको हो ।’ अर्का कृषक तुलसीराम खनालले भन्नुभयो, ‘ सांसद मल्ललाई हामीले एक पटक निरीक्षण गरिदिन आग्रह गरेका थियौं । उहाँ आउनुहुन्न होला भनेको आउनुभयो । उहाँलाई किसानको दुःख थाहा रहेछ भन्ने अनुभूति भयो ।’ प्रदेश सभाको सांसद खेतखेतमा किसानसँग बाँदरका पछिपछि हिँड्दा धेरैले आश्चर्य मानी हेरिरहेका देखिन्थे ।

सांसद मल्लले बाँदरको आतङ्कको बारेमा आफू जानकार रहेको मात्र नभई यस समस्याका बारेमा प्रदेश सभामा आफूले पटक पटक कुरा उठाएको स्मरण गर्दै फेरि पनि यसका विषयमा सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले बाँदर आतङ्कक र किसानको समस्यालाई गण्डकी प्रदेश सभामा उठाएको छु र यस विषयमा सम्बन्धित निकायहरुमा पनि पटक पटक कुराकानी गरेको छु । कानुन बनाएर नै भए पनि किसानलाई बाँदरको आतङ्कबाट मुक्ति दिलाउनु पर्छ । यसका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने छु ।’