एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनसम्बन्धी परेको मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुअघि कुनै सहमति नहुने स्पष्ट पारेका छन् ।सहमतिका लागि भनेर बिहान साढे ९ बजेदेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक जारी रहेको छ । आज बसेको बैठकले ११ बजेभित्र सहमति गरिसक्ने अनुमान गरिएको थियो ।
तर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्तालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बटमलाइन बनाएका छन् ।हस्ताक्षर कुनै हालतमा फिर्ता हुँदैन, नेपाल समूहका एक नेताले सूत्रन्यूजसँग भने । उनले हस्ताक्षर फिर्ताको शर्त तेर्स्याएर अदालतको फैसलालाई प्रभावित पार्ने खेल भइरहेकोया आरोप लगाए ।कार्यदलको बैठक बसिरहँदा सदस्य घनश्याम भुसाल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । उनी अहिले सिंहदरबार फर्किसकेका छन् । नेता नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने बरू बाँकी विषयमा अदालतको फैसलापछि सहमति गर्न सकिने भन्दै भुसाललाई पठाएका हुन् ।
यसअघि ९ बुँदे मस्यौदामा मोटामोटी सहमति जुटिसकेको थियो । आइतवारको बैठकमा जुटिसकेको सहमतिलाई औपचारिकता दिने निर्णय भएको थियो । तर हस्ताक्षर फिर्ताको विषय प्रवेश भएपछि सहमति भाँडिएको हो ।नेपाल समूहका गोकर्ण बिष्टलगायत अन्य सदस्यहरूले जे भएपनि आजै सहमति गर्नुपर्छ भन्ने अडान लिएका छन् । तर शक्ति बाँडफाँड र हस्ताक्षर फिर्ताको विषय उठेपछि सहमति हुन सकेन ।कार्यदलले कुनै सहमति गर्न नसकेपछि ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक ४ बजे बस्ने भनिएको थियो, तर अहिलेसम्म बस्न सकेको छैन ।