जसपा खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता

प्रकाशित मिति:

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। उत्प्रेषणको आदेशबाट जसपालाई खारेजी गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको हो।तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकीकरण वैधानिक नभएको भन्दै राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले रिट दर्ता गराएका हुन्।

रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ ।मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारबाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ।राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्यो समेत नभएको रिटमा दाबी गरिएको छ।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच १० वैशाख २०७७ मा एकता घोषणा भएको थियो। पछिल्लो समय जसपा फुटको संघारमा छ। जसपाको आधिकारिता विवाद निर्वाचन आयोग पुगेको छ। आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाउँदा उनीहरूले मिल्न नसक्ने पत्रमा हस्ताक्षर गरेका थिए।त्यसपछि आयोगले यो विवाद टुंग्याउन इजलास गठन गरेको छ। यस विषयमा आयोगले छिट्टै निर्णय गर्ने बताएको छ।