घरेलु मैदानमा पहिलो युरो कप उपाधि उचाल्ने इङ्ग्ल्यान्डको सपना अधुरै

प्रकाशित मिति:

युरो कप १६ औँ संस्करणको उपाधि इटालीले हात पारेको छ । उसले आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली इङ्ग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३-२ ले पराजित गर्दै युरो उपाधि हात पारेको हो ।वेम्बली स्टेडियममा भएको फाइनल खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।पेनाल्टीमा इङ्ग्ल्यान्डका ह्यारी केन र ह्यारी म्यागुइरले गोल गर्दा, मार्कुस रासफोर्ड , जार्डन सान्चो र बुकायो साका भने चुके । ​रासफार्डको प्रहार पोस्टमा लागेर बाहिरिँदा, सान्चो र साकाको प्रहारलाई इटालियन गोलरक्षक जियानलुजी डोनारुम्माले बचाए ।

इटालीका लागि डोमोनिको बेरार्डी, लियोनार्दो बोनुची र फेडेरिको बर्नाडेस्चीले गोल गर्दा आन्द्रे बेलोट्टी र जर्जिन्होले भने गोल गर्न सकेनन् । दुवैको प्रहारलाई इङ्ग्लिस गोलरक्षक जोर्डन पिकफर्डले बचाउ गरे ।युरो इतिहासमा विजेताको टुङ्गो पेनाल्टी सुटआइटबाट लिइएको यो दोस्रोपटक हो । यसअघि सन् १९७६ को युरो फाइनलमा चेकोस्लोभाकिया (हाल चेक गणतन्त्र) ले पश्चिम जर्मनी ९हाल जर्मनी० लाई पेनाल्टी सुट आउटमा ५-३ ले पराजित गरेको थियो ।खेलको सुरुवाती अग्रता भने इङ्ग्ल्यान्डले लिएको थियो । दोस्रो मिनेटममै काइरान ट्रिपियरको पासलाई सदुपयोग गर्दै लुक सले टोलीलाई अग्रता दिलाएका थिए ।

सको यो गोल युरो फाइनलमा सर्वाधिक छिटो हो । यसअघि सन् १९६४ को युरो फाइनलमा सोभियत युनियन (हाल रुस) विरुद्ध स्पेनका चेउस पेरेडाले छैटौँ मिनेटमा गरेको गोल युरो फाइनलको सर्वाधिक छिटो गोल थियो ।युरो कपमा सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान भने रुसका दिमित्री किरिचेन्कोको नाममा छ । ​दिमित्रीले सन् २००४ को युरोमा ग्रिसविरुद्ध १ मिनेट ७ सेकेन्डमा गोल गरेका थिए ।६७ औँ मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे । उनले बेरार्डीको कर्नरमा मार्को भेराटीको हेडरलाई इङ्ग्लिस गोलरक्षक जोर्डन पिकफर्डले बचाए पनि पोलमा लागेर रिबाउन्ड फर्किएको बललाई पोस्टको दिशा दिएका हुन् ।

पराजित भएसँगै सन् १९६६ को फिफा विश्वकप उपाधि उचाले यता पहिलो पटक मुख्य प्रतियोगिता फाइनल प्रवेश गरेको इङ्ग्ल्यान्डको ५५ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि उचाल्ने सपना पनि अधुरै बनेको छ ।इटालीका लागि यो दोस्रो युरो कप उपाधि हो । उसले यसअघि सन् १९६८ को युरो कप उपाधि उचालेको थियो ।