तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारीद्वारा मृत्यु भएका पशुको क्षतिपूर्ति वितरण

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङमा रहेको तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारीले मृत्यु भएका पशुको क्षतिपूर्ति वितरण गरेको छ । संस्थाले पशुधन सुरक्षण (विमा) कार्यक्रम अन्तरगत विमा गरेर मृत्यु भएका पशुहरुको क्षतिपूर्ति किसानलाई वितरण गरेको हो ।कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पशुपालक कृषकको लागि नगरपालिकाले सबै सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।उहाँले गल्याङमा कृषकहरुका लागि नगरपालिकाले महत्वपूर्ण कार्य गरिरहेको बताउनुभयो । नगरप्रमुख अधिकारीले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था एवम् निशुल्क पशु विमाको कार्यक्रमलाई किसानले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो –‘गल्याङमा किसानहरुले पाएको अनुदानको व्यवस्थालाई सदुपयोग गर्दै आत्मनिर्भर बन्ने मात्र नभई व्यवसायिक ढंगले अगाडि बढ्नुपर्छ ।’ गल्याङमा दुध किनेर खानुपर्ने अवस्था भएकोमा अहिले दैनिक दुई हजार लिटर निर्यात गर्न सकिएको भन्दै उहाँले किसानमा उत्साह आइरहेको बताउनुभयो । नगरप्रमुख अधिकारीले दुध, मासु वा कृषि उपज नविकेर फाल्नुपर्ने अवस्था नरहेको भन्दै विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको जानकारी दिनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले पशु विमाको कार्यक्रमबाट किसानले ठूलो लाभ लिन सक्ने बताउनुभयो ।गल्याङ नगरपालिकाले निशुल्क पशु विमा गरिरहेको र पशुको मृत्यु भएमा त्यसको क्षतिपूर्ति पाउने व्यवस्थाले सबै ठाउँमा नहुने भन्दै यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले किसानले पाएको अनुदानलाई अब व्यवसायिकतामा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।सोमबार संस्थाको सभाहलमा भएको गल्याङ नगरपालिकामा पशु विमा गरेका किसानहरुलाई सात लाख ५० हजार वितरण गरिएको छ ।

यो वर्ष १५ लाख रुपैयाँ पशुपालक किसानहरुलाई पशुधन सुरक्षण (विमा) कार्यक्रम अन्तर्गत वितरण गरिएको तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दलबहादुर सिंजालीले जानकारी दिनुभयो । उहाँले संस्थाले अझै सरल ढंगबाट क्षतिपूर्ति दिने व्यवस्था गर्ने बताउनुभयो । संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीले पशु धन विमा सुरक्षणका लागि नगरपालिकाले गरिरहेको काममा आफुहरुले सहजिकरण गर्न पाएकोमा गर्व लागेको बताउनुभयो । कार्यक्रममा सहभागी भएका गल्याङ नगरपालिका वडा नम्बर ५ रुपाखानीका पशु कृषक कुलबहादुर रानाले क्षतिपूर्ति पाउँदा आफुलाई निकै खुशी लागेको बताउनुभयो । रानाले भन्नुभयो –‘एक लाख २० हजारमा गाई किनेको थिएँ, एक लाख आठ हजार पाएँ, अहिले गाई मरेको जस्तो नै लागेको छैन ।’ तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले किसानको घर घरमा पुगेर पशु विमा गर्ने गरेको छ भने गल्याङ नगरपालिकाले विमा रकम किसानलाई फिर्ता गर्ने गरेको छ ।