एकैपल्ट ५ मन्त्रालय सम्हाल्दा नयाँ अनुभव महसूस भयो : कृष्णगोपाल श्रेष्ठ

प्रकाशित मिति:

५  मन्त्रालयको नेतृत्व सम्हालिरहेकै अवस्थामा सर्वोच्च अदालतको फैसलाले सरकारबाट बाहिरिएका मन्त्री कृष्णगोपाल श्रेष्ठ मंगलवार बिदाइ भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको छ ।मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा मन्त्रालयबाहेक ४ मन्त्रालयमा करीब १ दर्जन बढी महत्त्वपूर्ण काम गर्न सफल भएको बताए । बिदाइ समारोहमा उनले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरूप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकेको बताए ।

स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उनले यसै वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गरेका मन्त्री श्रेष्ठले त्यसको १ हप्ताभित्र ८ लाख मात्रा खोप ल्याउन सफल भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताए । उनको कार्यकालमा ३ मुलुकबीचको फूटबल खेलमा पहिलो स्थान हासिल गर्ने फूटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएकोे थियो ।

मन्त्री श्रेष्ठले गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत पुस १२ गतेबाट शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका मन्त्री श्रेष्ठले मन्त्रालय अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका थिए ।‘सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो तर कम समय भएकाले सम्भाव भएन, जति काम सम्पन्न गरे, त्यसमा मलाई खुशी लागेको छ,’ उनले भने, ‘५ वटा मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटकमा ५ मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसूस गरेको छु ।’