टोकियो ओलम्पिकमा नेपाल : पाँच खेलाडी, १७ पदाधिकारी

प्रकाशित मिति:

काठमाडौं । आगामी २३ जुलाईबाट जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालबाट ५ खेलाडी ४ प्रशिक्षक सहित १७ पदाधिकारीले सहभागिता जनाउने तय भएको छ ।प्रतियोगिता ८ अगस्टसम्म आयोजना हुनेछ । कोरोना महामारीका कारण प्रतियोगिता एकवर्षपछि सुरु हुन लागेको हो । नेपालबाट ओलम्पिकमा पौडीतर्फ गौरिका सिंहले महिला १०० सय मिटर फ्री स्टाइल र एलेक्जेन्डर शाहले पुरुष १०० मिटर फ्री स्टाइलमा सहभागिता जनाउनेछन् ।

त्यस्तै सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल, जुडोकी सानिया भट्टले महिला ४८ केजी तौल समूह तथा एथलेटिक्सकी सरस्वती चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउने तय भएको हो । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालिटी प्लेस’अन्तर्गत खेलमा सहभागिता जनाउने तय हुँदा अन्य दुई खेलाडीले ‘वाइल्ड कार्ड’ मार्फत सहभागीताका जनाएका हुन् । नेपाली टीमको ‘सेफ द मिसन’ का रुपमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रमेशकुमार सिलवाल रहनेछन् ।

अहिलेसम्मकै राम्रो तयारी-एनओसी
टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमको तयारी २०१९ को मे महिनाबाट सुरु भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो ।अहिलेसम्मको नेपालको ओलम्पिक सहभागिता इतिहासमा यो नै सबैभन्दा लामो, व्यवस्थित र बलियो तयारी रहेको ओलम्पिक कमिटीले दाबी गरेको छ । ओलम्पिक छात्रवृत्तिबाट दुई करोड रुपैयाँ बराबर बजेट खर्च भएको एनओसीले जनाएको छ ।

स्वास्थ्य मापदण्डमा कडाइ
आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘वान’मा राखेको छ । स्वास्थ्य मापदण्डअनुसार प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिनुपर्ने हुन्छ । सोहीअनुसार नेपाली प्रतिनिधि मण्डलले खोप लिइसकेका छन् ।
त्यसअनुसार टोकियो प्रवेश गर्नुअघि नेपाली प्रतिनिधिले सात दिन लगातार ‘पीसीआर’ परीक्षण गर्नुपर्नेछ । साथै टोकियो पुगेपछि तीन दिन ‘क्वारेन्टीन’ मा बस्नुपर्नेछ ।

नेपालको झन्डा गौरिकाले बोक्ने
ओलम्पिक उद्घाटनमा नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो ।गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । उनले यसअघि २०१६ को रियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाडी बन्दै रेकर्ड राखेकी थिइन् । नेपालमा आयोजना भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन्।