नेपाल राष्ट्र बैंकको आफ्नै एप सार्वजनिक

प्रकाशित मिति:

नेपाल राष्ट्र बैंकले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय क्षेत्रको जानकारी, राष्ट्र बैंकबाट जारीहरु सम्पूर्ण सूचनाहरु एकै प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यले बैंकले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाईल एप ल्याएको हो ।बुधबार एक भर्चुअल कार्यक्रममार्फत बैंकका डेपुटी गभर्नर डा। निलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको सार्वजनिक गरेका हुन् ।

उक्त एप मार्फत बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिष्कृत गर्दै लगिने बैंकले जनाएको छ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिने बैंकले जनाएको छ ।