एमालेको विरोधबीच गण्डकीको बजेट पारित (भिडियो सहीत )

प्रकाशित मिति:

गण्डकी प्रदेश सरकारले ल्याएको बजेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच पारित भएको छ । एमालेले लगातार संसद अवरुद्ध गरेपछि मार्सल लगाएर सदन चलाइएको थियो ।आइतवारदेखि शुरू संसद बैठकमा कांग्रेसले गरेको रकमान्तरको विरोध गर्दै एमालेले अवरोध गर्‍यो । पछि संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि संसद सञ्चालन भएको थियो ।

सोमवार टेबुल गरिएको विनियोजन विधेयकमाथि बुधवार छलफलको कार्यसूची थियो । तर शुरूआतदेखि नै एमालेले संसद चल्न दिएन र मार्सल लगाएर सदन चलाइएको थियो ।सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका थिए ।एमाले सांसद बसिरहेको कुर्सी छाडेर संसदको रोस्टम अघि नाराबाजीमा उत्रिए । सत्तापक्ष र प्रतिपक्षी सांसदबीच केहीबेर भनाभन भयो ।यसअघिका भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालेका थिए । आफ्नो सरकारको पालामा ल्याएका राम्रा योजनाको बजेट काटेकोमा प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाउँदै आएको छ ।

एमाले संसदीय दलले सो घटनापछि पत्रकार सम्मेलन गरेको छ । एमाले सांसद एवं पूर्व मन्त्री रामशरण बस्नेतले आफूले टेबुल नफालेको दाबी गरे । उनले नाराबाजीका क्रममा साँघुरो भएर आफूले टेबल सारेको बताए ।उनले सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै एमालेले प्रतिवाद गर्ने स्पष्ट पारे ।सरकार आगामी आवको लागि गत असार १ गते ल्याएको बजेट बहुमतले पारित भएको छ । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गरेको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८र०७९ विनियोजन विधेयक बहुमतले पास भएको हो ।