काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको आवेदन तत्काल नखुलाउने भएको छ । कोरोना महामारीका कारण गत वैशाख १६ देखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द छ ।
तर निषेधाज्ञा खुकुलो भएपनि लाइसेन्स आवेदन सुरु गर्ने विषयमा भने विभागले कुनै तयारी गरेको छैन । विभागका प्रवक्ता लोकनाथ भुषालले आफूहरू सरकारको निर्णय कुरिरहेको बताए ।‘हामी सीसीएमसीको आधिकारिक निर्णय कुरिहेका छौं । स्कुल कलेज खुलेलगत्तै नयाँ लाइसेन्स आवेदन खुलाउने र ट्रायल सेन्टर सञ्चालनको अनुमति दिने छौं,’ उनले भने । यसअघि विभागले गत वर्ष भएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा रोकेको थियो ।
यसपछि खुलाइएको अनलाइन आवेदन प्रणालीमा सेवाग्राहीको चाप अत्याधिक बढेको थियो । यहीकारण विभागको अनलाइन पोर्टल पटक पटक डाउन भएको थियो ।ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिएका सेवाग्राहीले १० महिनापछि परीक्षाको पालो पाए पनि वैशाखमा पुनः अनलाइन आवेदन प्रणाली बन्द हुँदा अब थप सेवाग्राहीको चाप बढ्ने देखिन्छ ।