लुम्बिनीका विपक्षी भन्छन्- ‘ओली प्रवृत्तिको टाउको फुटिसकेको छ ढाड यो प्रदेशबाट भाँचिन्छ’,

प्रकाशित मिति:

बुटवल- लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका नेताहरुले प्रदेश सभाबाट बजेट अस्वीकृत भएको दाबी गरेका छन् । प्रदेश सभा भवनमा बिहीबार साँझ विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै सत्तापक्ष नै बैठक छाडेर गएका कारण बजेट स्वतस् अस्वीकृत भएको दाबी गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता विरेन्द्र कनोडियाले प्रदेश सभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिष्कार गरेको बताए । निर्णायार्थ पेस गर्नु पर्ने मुख्यमन्त्री स्वयंको अगुवाइमा बैठक बहिष्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको बताए । उनले भने,शंकर पोख्रेलसँग बचेखुचेको नैतिकता भए सदनमा आएर मार्ग प्रसस्त गर्नु पर्छ ।

 

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मध्यरातमा प्रदेशसभा स्थगित गर्ने वा कुनै षड्यन्त्र भए प्रदेश प्रमुखविरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिए । केसीले केन्द्रमा ओली प्रवृत्ति बढारिएको उल्लेख गर्दै केही दिनभित्र प्रदेशमा पनि बढारिने दाबी गरे ।‘ओली प्रवृत्तिको टाउको फुटिसकेको छ ढाड यो प्रदेशबाट भाँचिन्छ’, उनले भने । जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्तापक्षले संसद् बहिष्कार गर्नु भनेकै बजेट फेल हुनु भएको बताए ।