मध्यरातमा लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य

प्रकाशित मिति:

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिएका छन्।यसअघि बिहिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन छाडेर प्रदेश सभा बैठकबाट हिँडेका थिए।बजेटमाथि प्रदेश सभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने समयमा विपक्षी दलका सांसदहरूले बहुमत नभएकोले बजेट पास नहुने बताएका थिए।

बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका थिए।छलफलका लागि सभामुखले आधा घण्टाको समय दिए पनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुटेन। अन्ततः सत्तारुढ दल र विपक्षी गठबन्धनबीच छलफल नै नभएपछि प्रदेशसभा सचिवालयले प्रदेश सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो।एमाले सचेतक ढकालले समय घर्किसकेको र बजेट कार्यान्वयनको समय आएकोले बजेट पास हुन दिनुपर्ने बताए पनि विपक्षी सांसदहरूले भने अल्पमतमा रहेको सरकारले बजेट पास गर्न नसक्ने अडान राखिरहेका थिए।विपक्षी दल, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेको सरकारले सदन फेस गर्नुको सट्टा षड्यन्त्रको खेलमा लागेको बताए। यही बीचमा बिहीबार रातीदेखी प्रदेश सभा स्थगित गरिएको हो।

हाल ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद छन्।विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १७, जसपा उपेन्द्र यादव पक्षका ३ जना, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट निर्वाचित बिमला वली गरी ४१ जना नै सांसद छन्।प्रदेश सभामा मत बराबर भए सभामुखले निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेकोले उनको मत पाउँदा विपक्षी गठबन्धनको मत ४२ पुग्छ।