लिखितमा फेल भएको विद्यार्थी अन्तरवार्ताको नतिजामा पास

प्रकाशित मिति:

मङ्सिर १८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जनप्रशासन केन्द्रीय विभागले एमफिल इन्ट्रान्सको लिखित परिक्षामा अनुत्तीर्ण भएको विद्यार्थीको अन्तरवार्ता पछिको प्रकाशित अन्तिम नतिजामा उत्तीर्ण गरेको छ । इन्ट्रान्स रोल नं. ५५ भएका एक विद्यार्थीको लिखित नतिजामा नाम नभए पनि अन्तरवार्ता पछिको प्रकाशित नतिजामा उनी पास भएका छन् ।

उक्त विद्यार्थी पूर्व नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका महासचिव ऐन महर निकट भएको नाम नतोक्ने सर्तमा जनप्रशासन क्याम्पसका एक विद्यार्थी नेताले बताए । यसै विषयलाई लिएर जनप्रशासन क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियले जनप्रशासन केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा सोमबार तालाबन्दी गरेको छ ।

लिखित परिक्षामा पास भएको विद्यार्थी हटाई लिखितमा पास नभएको व्यक्तिलाई राजनैतिक दवावाका आधारममा नाम निश्कासन गरेकोले तालाबन्दी गर्न बाध्य भएको जनप्रशासनका स्ववियु सभापति पंकज सुवेदी जानकारी दिए । जनप्रशासन क्याम्पसका स्ववियु सभापति सुवेदी नेपाल विद्यार्थी संघबाट निर्वाचनमा भाग लिई निर्वाचित भएका हुन् ।

मेरिटका आधारमा विद्यार्थीले पढ्न पाउने कुराको उपेक्षा भएको र यस्तो कुरा नेपाल विद्यार्थी संघलाई कदापि सह्य नहुने सभापति सुबेदीको भनाइ रहेको छ ।

– प्रशासनिक अनलाइनबाट