ट्विट अर्काइभ गर्न नजान्दा उड्यो प्रधानमन्त्री कार्यालयको अकाउन्ट भेरिफिकेसन र फलोअर्स

प्रकाशित मिति:

प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सचिवालयले सञ्चालन गर्दै आएको ट्विटर अकाउन्ट   @pm_nepal फलोअरसँगै भेरिफिकेसन उडेको छ।प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएका ट्विटहरू अर्काइभ गर्ने क्रममा भएको गल्तीले फलोअरसँगै भेरिफिकेसन गुमेको हो।प्रधानमन्त्री कार्यालयका उपसचिव मनिष भट्टराईले ट्विट अर्काइभ गर्ने काम भएको बताए। ‘अघिल्लो प्रधानमन्त्रीले गरेका ट्विटहरूलाई अर्काइभ गर्ने र नयाँ प्रधानमन्त्रीका लागि अकाउन्ट मिलाउन हामीले अकाउन्टको नाम आर्काइभ गरेका हौं’, भट्टराईले सेतोपाटीसँग भने, हामीले त्यसलाई अर्काइभ भनेर नाम परिवर्तन गर्‍यौं।

उनले ट्विटर अकाउन्ट केहीसमय अगाडि प्राप्त भएको बताए। साथै भेरिफिकेसन उडेको विषयमा अनविज्ञता प्रकट गरे।कार्यालय र सचिवालयले सञ्चालन गर्ने अकाउन्टको ह्याण्डल परिवर्तन गरेर @pm_nepal_kpoli बनाइएको छ। उक्त अकाउन्टको नाम प्रधानमन्त्री कार्यालय अर्काइभ राखिएको छ। उक्त ह्याण्डलमा अहिले ६ लाख ४७ हजार फलोअर छन्।तर प्रधानमन्त्री कार्यालयको ह्याण्डल  @pm_nepal मा यो समाचार तयार पार्दा सम्म १ सय फलोअर पुगेका छैनन्। ‘हामी नयाँ प्रधानमन्त्रीका लागि मिलाउन खोज्दैछौं। पुरानो अकाउन्टको डेटा डिलिट नगरि हिस्ट्री राख्न सल्लाह भइराखेको छ’, भट्टराईले सेतोपाटीसँग भने।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापाले प्रधानमन्त्रीबाट हटेसँगै अकाउन्ट जिम्मा लगाउने काम भएको बताए। हामीले प्रधानमन्त्रीबाट हटेपछि त्यसबाट कुनै ट्विट गरेका छैनौं’, थापाले भने, ‘मन्त्रालयले गरेको होला। हामीले त्यही दिन जिम्मा लगाएका हौ। पूर्ववत सिस्टम अनुसारनै भएको हो।’

ट्विटर अकाउन्ट प्रयोगकर्तालाई ट्विटरले डेटाहरू डाउनलोड र आर्काइभ गर्ने सुविधा दिने गरेको छ। तर मन्त्रालयले डेटा अर्काइभ गर्नुको साटो अकाउन्ट नै अर्काइभ गरिदिएपछि प्रधानमन्त्री कार्यालयले जनतासँग प्रत्यक्ष रुपमा सूचना प्रवाहका लागि प्रयोग गर्ने गरेको ट्विटर ह्याण्डल नै गुमेको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सचिवालय बनाएका छैनन्। त्यसैले २ @pm_nepal अकाउन्ट कसले र कसरी प्रयोग गर्ने भन्ने टुङ्गो छैन। अहिलेसम्म प्रधानमन्त्री देउवाले  @deubasherbdr अकाउन्टबाट सूचनाहरु सार्वजनिक गरिरहेका छन्।