को हुन् निर्मला हत्याकाण्डमा शंकाको घेरामा रहेका ती दुई सुरक्षाकर्मी ?

प्रकाशित मिति:

काठमाडौं, १८ मंसिर – कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्ते हत्याकाण्डको अनुसन्धानको विषयलाई लिएर प्रश्न उठिरहेको बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा सहभागी सबै प्रहरीमाथी कारवाहीको तयारी सुरु गरेको छ ।

घटनास्थलदेखि विभिन्न निकायमा रहेर अनुसन्धानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको तयारी भएको हो ।

यसअघि नै निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदिश भट्ट निलम्बनमा परिसकेका छन् । यस्तै तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्स्पेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् । साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीलाई साउन १० गते नै निर्मला हराएको खबर दिँदा पनि प्रहरीले खोजीमा चासो नदेखाएको आरोप लागेको थियो । अनुसन्धानमा लापरवाही गरेको, घटनास्थलको संरक्षणलगायतको विषयमा प्रहरीको कमजोरी रहेको सरकारकै समितिले केलाएपछि प्रहरी प्रधान कार्यालय आफैँले प्रहरीमाथी अनुसन्धान सुरु गरेको थियो । आईजीपी सर्वेन्द्र खनालले एआईजी धिरु बस्न्यातको नेतृत्वमा प्रहरीमाथी छानबिन गर्न आन्तरिक समिति गठन गरेका थिए ।

बस्न्यातको समितिले तत्कालीन समयमा निर्मला हत्याको अनुसन्धानमा जोडिएका सबै प्रहरीलाई काठमाण्डु झिकाएको थियो । स्रोतका अनुसार बर्खास्तीमा परेका र निलम्बनमा परेका प्रहरीबाहेक अनुसन्धानमा संलग्न सबै प्रहरीमाथी विभागीय कारवाहीको प्रक्रिया सुरु भएको छ । ‘थप १७–१८ जना छन् । उनीहरुको बयान सकिएको छ । कसुरको मात्रा हेरेर कस्तो प्रकारको कारवाही गर्ने भन्ने विषयमा गहन छलफल भइरहेको छ । कसैको घटुवा, कसैको ग्रेड रोक्का लगायतका कारवाही सबैलाई हुने सम्भावना छ,’ स्रोतले भन्यो । समितिले केही दिनमै आईजीपी खनाललाई आन्तरिक प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ ।

सुरक्षाकर्मी नै शंकाकोे घेरामा
निर्मला हत्याको अनुसन्धानमा प्रहरीको नयाँ टोली सक्रिय छ । तर निष्कर्षमा पुगिहाल्ने र अपराधी किटान गर्ने अवस्थामा भने प्रहरी पुगिनसकेको स्रोतले जनाएको छ । तर शंकाको घेरामा राज्यको सुरक्षा निकायमै कार्यरत दुईजना परेको स्रोत दाबी गर्छ ।

‘किटान गर्न त मिलेन तर उनीहरुका गतिविधि शंकास्पद छन् । कुन सुरक्षा निकायका हुन् भन्ने खोल्न मिल्दैन । तर गोप्य अनुसन्धान उनीहरुमाथी सुरु गरिएको छ,’ स्रोतले भन्यो । तर गाउँले–छिमेकीको गतिविधिमा पनि प्रहरीले नजर राखेको छ । हालसम्म ८ जनाको डीएनए परीक्षण भइसकेको छ भने सयौंको बयान–सोधपुछ पनि भएको छ ।