कांग्रेसले सिध्यायो ७५ जिल्लाको सदस्यता छानबिन

प्रकाशित मिति:

काठमाडौँ-नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाको छानबिन सकेको बताएको छ । समितिका प्रवक्ता तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले ७५ जिल्लाबाट पठाइएका क्रियाशील सदस्यको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पुर्‍याइएको जानकारी दिए ।

अहिलेसम्म १४ औँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको प्रवक्ता पौडेलले जानकारी दिए । अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको छ । तर यसमा कतिपय सदस्य उजूरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् । अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने सम्भावना छ, पौडेलले भने ।

अब मिलाउन प्राविधिक पक्षमात्रै बाँकी रहेको पौडेलले बताए । उनले अब ३, ४ दिनमा क्रियाशील सदस्यहरूको हार्डकपी सभापतिलाई बुझाउने बताए । समितिले बुझाएको सदस्यताको फाइल सभापतिले स्वीकृत गरेर केन्द्रीय समितिमा राख्‍नेछन् । केन्द्रीय समितिले पास गरेर निर्वाचन समिति र त्यहाँबाट वडामा पुग्नेछ ।समितिले सहमतिमा टुंग्याउन नसकेका सदस्यताका फाइल पदाधिकारी समक्ष पठाएको बताएको छ । समितिले सहमतिमा टुंग्याउन नसकेर पदाधिकारीमा पठाएका वडाको संख्या ७० भन्दा बढी रहेको प्रवक्ता पौडेलले बताए ।