आफ्नो खेलाडीमाथि रंगभेदी दुर्व्यवहार भएपछि जर्मन फुटबल टिमले मैदान छाड्याे

प्रकाशित मिति:

काठमाडौँ-अन्तर्राष्ट्रिय फुटबलमा रंगभेदी दुर्व्यवहार नयाँ विषय होेइन । विशेष गरी युरोपियन फुटबल यसबाट पीडित छ । युरो २०२० को फाइनल खेलपछि इंग्ल्यान्डका केही खेलाडी रंगभेदी दुर्व्यवहारको शिकार बने । इटालीविरुद्ध पेनाल्टीमा चुकेका कारण जेडोन सान्चो, मार्कस रासफार्ड र बुकायो साकालाई सामाजिक सञ्जालमा रंगभेदी गाली गलौज गरियो ।इंग्ल्यान्डका युवा खेलाडीहरूलाई लक्षित गरी रंगभेदी गाली गरेपछि त्यसको चौतर्फी विरोध भयो । विशेषगरी सामाजिक सञ्जालमा गरिने यस किसिमका व्यवहारको विरोध गर्दै समग्र इंग्लिस फुटबलले गत अप्रिलमा केही दिनका लागि फेसबुक, टुइटर, लगायतका माध्यम बहिस्कार गरेको थियो ।

विभिन्‍न कदम चालिए पनि खेलाडीमाथिको रंगभेदी दुर्व्यवहार रोकिएको छैन । यसको पछिल्लो शिकार बनेका छन्, जर्मनीका युवा खेलाडी जोर्डन टोरुनारिघा । जो ओलम्पिकका लागि घोषित जर्मन पुरुष फुटबल टिमका सदस्य हुन् । शनिबार जर्मनी र होन्डुरसको ओलम्पिक टिमबीच भइरहेको मैत्रीपूर्ण खेल दौरान टोरुनारिघामाथि रंगभेदी दुर्व्यवहार गरिएको हो । जसकारण जर्मन टिमले मैदान छाडेको थियो ।अर्को साताबाट सुरु टोकियो ओलम्पिकका सुरु हुने हुँदा जर्मन टिमले तयारी स्वरुप होन्डुरसको युवा टिमसँग मैत्रीपूर्ण खेलमा भाग लिएको थियो । तर जर्मन टिमले ८५ औँ मिनेटमा मैदान छाड्यो । जर्मनीका खेलाडीहरूले नखेल्ने निर्णय लिँदा खेल १–१ को अवस्थामा थियो ।

जर्मन फुटबल संघले टोरुनारिघामाथि रंगभेदी दुर्व्यवहार भएपछि आफ्नो टिमले मैदान छाडेको प्रष्ट पारेको छ । ‘खेल ८५ औँ मिनेटमा चल्दै गर्दा हाम्रा खेलाडी जोर्डन टोरुनारिघामाथि रंगभेदी दुर्व्यवहार भयो । जसकारण हामी खेल नसकिँदै मैदान छाड्न बाध्य भयौँ,’ जर्मन फुटबल संघले भनेको छ ।हर्था बर्लिनका रक्षक टोरुनारिघा रंगभेदी दुर्व्यवहारको शिकार बनेको यो पहिलो पटक होइन । गत फेब्रुअरीमा पनि उनीमाथि साल्कासँगको खेल दौरान रंगभेदी गालीगलौज गरिएको थियो । त्यसपछि साल्कालाई जरिवाना तिराइएको थियो ।