पोखरा बस्ने आँधीखोलाका काङ्ग्रेसको भेला सम्पन्न

प्रकाशित मिति:

३ साउन, पोखरा । स्याङजाको आँधीखोला जन्मथलो भई पोखरामा विभिन्न पेशा व्यवसाय गर्दै आएका आँधीखोले कांग्रेसहरुको भेला शनिवार पोखरामा सम्पन्न भएको छ । भेलाले आँधीखोला गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरेको छ । कांग्रेसको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै भएको भेलाले शेरवहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा गाउँपालिकाका ६ वटै वडाका प्रतिनिधिहरु समावेश गरिएको छ । समितिको सहसंयोजकमा सुजन गहतराज, सचिवमा रमण पौडेल, कोषाध्यक्षमा गीता चापागाईँ रहेका छन् । समितिका सदस्यहरुमा ख्यामनारायण ढकाल, नरेन्द्र गुरुङ, रामप्रसाद पौडेल, अग्नी पनेरु, अमृत क्षेत्री, अमृत सुनार, घनश्याम पौडेल र इश्वरी अधिकारी रहेका छन् । जसमा एक सदस्य पछि थप गरिने जनाइएको छ ।

त्यसैगरी समितिको सल्लाहकारमा सुवेदार गोपालप्रसाद ढकाल र पूर्व प्रहरी नायव उपरीक्षक देवी पौडेल रहेका छन् । समितिको प्रेस संयोजकमा नेपाल प्रेस युनियनका नेता एवं नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथकलाई चयन गरिएको छ । भेलाले आउँदो दशैंको आसपासमा बृहत् भेला गरी तदर्थ समितिलाई कार्यसमितिमा रुपान्तरण गर्ने जानकारी दिएको छ । सो अवसरमा महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथक, नरेन्द्रराज पौडेल, गीता चापागाइँ, राजेन्द्र पौडेल, नगेन्द्र गुरुङ, थानेश्वर पौडेल लगायतले आँधीखोलामा कांग्रेस कमजोर हुँदै जानुका कारण खोजी गरी समस्याको निदान गर्ने विषयमा छलफल गरेका थिए ।

समितिले आँधीखोलामा रहेका काङग्रेसलाई सक्रिय बनाई आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउन भूमिका खेल्ने सहभागीहरुले बताएका छन् । विगतमा कांग्रेसको गढ मानिने आँधीखोला गाउँपालिका पछिल्लो समयमा किन कमजोर हुँदै गयो त्यसका बारेमा पनि समीक्षा गरिने र कारणहरुको खोजी गरी समाधानतिर लाग्ने सहभागी सदस्यहरुले बताएका छन् ।