मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्लामा पोखरेल

प्रकाशित मिति:

नवलपुर– गण्डकी प्रदेशका मुख्यमन्त्री बनेपछि कृष्णचन्द्र (नेपाली) पोखरेल आइतबार पहिलो पटक गृह जिल्ला नवलपुर आइपुगेका छन् । काठमाडौंबाट पोखरा नगई पोखरेल नवलपुर आइपुगेका हुन् ।मुख्यमन्त्रीको हैसियतमा गृह जिल्ला आइपुगेका पोखरेलले दुई दिनको बसाईका क्रममा नवलपुरको दुई पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार बाहेक सबै पालिकामा पुग्ने कार्यक्रम रहेको बताए ।

गैंडाकोट र देवचुली नगरपालिकामा पार्टी कार्यकर्तालाई भेट गरी कावासोती पुगेका पोखरेलले सोमवार हुप्सेकोट गाउँपालिका, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको भ्रमण गर्ने भएका छन् ।

अघिल्लो सरकारकै योजना प्राथमिकतामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले कावासोतीस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा पार्टी कार्यकर्तासँगको भेटघाटमा आफूले अघिल्लो सरकारको मुख्य योजनालाई प्राथमिकतामा राखेको बताए ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा आफ्नो सरकारले ल्याएको योजना नपरेको भन्दै बजेट अधिवेशन अवरोध गर्न खोज्दा केही दिनअघि मात्रै मार्सल लगाएर बजेट पारित गरिएको थियो ।

तर मुख्यमन्त्री पोखरेलले आफ्ना पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले यसअघिको सरकारका मुख्य योजनालाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरेको स्पष्ट पारे ।जनताले स्थायी सरकारको अपेक्षा गरेकै कारण आफूले अघिल्लो सरकारको योजनालाई प्राथमिकता दिएर बजेट ल्याएको उनको भनाइ थियो ।

गण्डकीबाट केन्द्र पुग्यो सरकार बनाउने अभियान

मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने अभियान गण्डकी प्रदेशबाट केन्द्रमा पुगेको टिप्पणी गरे ।सरकार परिवर्तन हुनु स्वभाविक भए पनि गण्डकी प्रदेशबाट कांग्रेस नेतृत्वमा सरकार बनाउने अभियान शुरु भई सो क्रम अहिले सिंहदरबार पुगेको उल्लेख गरे ।पोखरेलले जेठ २९ गते मुख्यमन्त्रीको सपथ लिएपनि अझै मन्त्रिपरिषद्लाई पूर्णता भने दिन सकेका छैनन् । उनले गठबन्धन सरकारको मन्त्रिपरिषद् गठनसम्बन्धि सकसबारे भने केही उल्लेख गरेनन् । मुख्यमन्त्रीसँगै सपथ लिएका चार मन्त्रीलाई पनि उनले ३० दिनपछि मात्रै मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

आफ्नो ध्यान समग्र नवलपुरको विकासमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पहिलो पटक गृह जिल्ला नवलपुर आएर आफ्नो ध्यान जिल्लाको विकासमा रहेको उल्लेख गरे ।गैंडाकोटमा कार्यकर्ता भेटघाटकै क्रममा स्थानीय १३ नम्बर वडा कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा पोखरेलले विभिन्न पार्टीका एक सय पचास बढीलाई पार्टी प्रवेश गराएका थिए ।गैंडाकोटको भेटघाट सकेर अपरान्ह १ बजे मुख्यमन्त्री पोखरेलले सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पुगेर प्राकृतिक चिकित्सा क्षेत्रमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए । हतारमा बजेट ल्याउनु परेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले बजेटमा रजहरको प्राकृतिक चिकित्सालयलाई समेट्न नसकिएको बताए ।मुख्यमन्त्री पोखरेलले आइतबार नै कावासोतीस्थित जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु तथा जिल्ला समन्वय समिति र पालिकाका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिसँग छलफल गरेका थिए ।सोमबार हुप्सेकोट गाउँपालिका, मध्यबिन्दु नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाको भ्रमण गर्ने कार्यक्रम तय गरेका उनले नारायणी नदीबाट प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने भएका छन् ।