धवनकाे उत्कृष्ट प्रदर्शन श्रीलंकाविरुद्ध भारत ७ विकेटले विजयी

प्रकाशित मिति:

श्रीलंकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत फराकिलो अन्तरले विजयी भएको छ । श्रीलंकाविरुद्ध ‘बी’ टिम खेलेको भारतले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेटको जित निकालेको हो ।श्रीलंकाले दिएको २६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छदैं तीन विकेट गुमाएर पुरा गरेको थियो ।पहिलो टिम इंग्ल्याण्डसँगको टेस्ट सिरिजका लागि रहेकाले यतिबेला श्रीलंका भ्रमणमा शिखर धवनको कप्तानीमा दोस्रो टिम गएको छ । यसैगरी राहुल द्रविडले यतिबेला टिमको प्रशिक्षण पनि सम्हालेका छन् ।

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो । उसका लागि चामिका करुणारत्नेले सर्वाधिक ४३ रन बनाउँदा नव नियुक्त कप्तान दाशुन सनकाले ३९ रन बनाए । चरिथा अस्लंकाले ३८ रन बनाउँदा आविश्का फर्नान्डोको ब्याटबाट ३३ रन बनेको थियो । भानुका राजपाक्षले २४ रन बनाएका थिए । भारतका दीपक चहार, युजबेन्द्र चहल र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए ।२६३ रनको लक्ष्य पछ्याएको भारतको शुरुआत मध्यम रहेको थियो । पहिलो विकेटका लागि पहिलो विकेटका लागि पृथ्वी सा र शिखर धवनले ५८ रनको साझेदारी गरेका थिए । सा ४३ रनमा आउट भएपछि भारतले पहिलो विकेट गुमाएको थियो । धवन र इशान किसनले मिलेर भारतको पारि अघि बढाएका थिए । उनीहरुले ८५ रनको साझेदारी गर्दै भारतलाई जित तर्फ अग्रसर बनाएका थिए ।

किसन ५९ रन बनाएर आउट हुँदा भारतको स्कोर २–१४३ को अवस्थामा रहेको थियो । धवन र मनिष पाण्डेले टिमको स्कोर २०० प्लस बनाएका थिए । २१५ रन भएका बेला मनिष व्यक्तिगत २६ रन बनाएर आउट भएका थिए । अन्तिम सम्म क्रिजमा रहेका कप्तान धवन ८६ रनमा नटआउट रहे । सूर्यकुमार यादवले पनि ३१ रनमा नआउट रहँदा भारतले खेल जितेको थियो । धनञ्जय डी सिल्भाले दुई विकेट लिएका थिए । यो जितसँगै तीन वटा एक दिवसीय म्याचमा भारतले १–० ले अग्रता बनाएको छ ।