काठमाण्डौ – प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । सानेपामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेतारकार्यकर्ताले आज सोमवार एक पक्षीय ढङ्गले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनशन बस्ने चेतावनीसमेत दिए ।
पार्टीको विधानसम्मत ढङ्गले, न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानबिन नभए आफूहरू आमरण अनशनमा बस्न बाध्य हुने कांग्रेस नेता अमरेश कुमार सिंहले चेतावनी दिनुभयो । उहाँले छिटो भन्दा छिटो यो समस्या समाधान गर्न सभापति देउवासँग माग गर्नुभयो ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो भदौ १६–१९ गते गर्ने मिति तोकिएको छ । तर क्रियाशील सदस्यता वितरणमा नै धाँधली गरिएको भन्दै विरोधमा कांग्रेसका प्रदेश नम्बर २ का नेतारकार्यकर्ता पार्टी कार्यालयमा अनशनमा बसेका छन् । उनीहरूले जिल्ला छानबिन समितिले दिएको सुझावका आधारमा सदस्यतासम्बन्धी विवाद समाधान नगरे मान्य नहुने चेतावनीसमेत दिएका छन् ।
जिल्ला छानबिन समितिले केन्द्रलाई दिएको सुझावका आधारमा सदस्यता वितरणसम्बन्धी विवाद समाधान नगरे मान्य नहुने कांग्रेस केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवले बताउनुभयो । उहाँले पार्टी केन्द्रले एक पक्षीय ढङ्गले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न लागेकोमा आपत्ति जनाउँदै मान्य नहुने चेतावनीसमेत दिनुभयो । धर्नामा बसेकाहरूले जिल्ला छानबिन समितिले दिएको सुझावलाई वास्ता नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोशसमेत व्यक्त गर्दै आएका छन् । उनीहरूले केन्द्रीयस्तरको छानबिन समितिले समेत पार्टीको विधानअनुसार काम गर्न नसकेको दाबी गरेका छन् ।