आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग

प्रकाशित मिति:

काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी ९जसपा०महन्थ ठाकुर समूहले विश्वासको मत लिनुअघि आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।

पार्टीको मंगबार सम्पन्न कार्यकारिणी समितिको बैठकले ८ बुँदमा देउवा सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनः सरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा देउवा सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले माग सम्बोधनका लागि अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले कोभिड–१९ को खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्नसमेत माग गरेको छ । वर्षाका कारण मुलुकको विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता समस्यामा परेका जनतालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति सुनिश्चित गर्न विज्ञप्तिमार्फत जसपाले माग गरेको छ ।