चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित, खोप लिन निगमको जहाज आज चीन जाँदै

प्रकाशित मिति:

काठमाण्डौ – चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४८ लाख डोजबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको छ । केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले वितरण भइरहेको छ । यस अघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यसैबीच, कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । निगमका अनुसार आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिनुभयो ।

चीनसँग खरिद गरिएका खोप लिन आज राति ११ बजे गएर भोली दिउँसो २ बजे जहाज नेपाल आउने छ । यस्तै भोली राति ११ फेरि जहाज गएर पर्सी आउने छ । यस्तै, खोप लिन ९ गते जाने जहाजले १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमित रूपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।