एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

प्रकाशित मिति:

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दैछ ।मंगलबार बसेको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको थियो ।

पार्टीको नीति विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले पत्र पुगेको २४ घण्टापछि सोबारे निर्णय गर्ने भएको छ ।एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार पार्टीको विवाद समस्या समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले मंगलबारको बैठकमा गत असार २७ मा भएको १० बुँदे सहमतिको पृष्ठभूमि र कार्यान्वयनका चरणबारे ब्रिफिङ गरेका थिए । उक्त सहमतिलाई सोमबारको बैठकले अनुमोदन गरिसकेको छ ।

बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षले सम्बन्धित प्रदेशको राजनीतिक र साङ्गठनिक स्थितिबारे जानकारी तथा सुझाव दिएको र बुधबार त्यसमाथि नेतृत्वले जवाफ दिने ज्ञवालीले बताएका थिए ।