दीपमा अभिभावक कविता वाचन प्रतियोगिता हुने

प्रकाशित मिति:

साउन–६, बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते शनिबार अभिभावक कविता वाचन प्रतियोगिता गर्ने भएको छ । जुम एप मार्फत् भर्चुअल रूपमा दिउँसो २ बजे सुरु हुने प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका अभिभावक आमाबुबाले मात्र भाग लिन पाउने कुरा कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताउनुभयो ।

बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।प्रतियोगितामा भाग लिन चाहने अभिभावकले साउन ७ गते ४ बजेसम्म नाम दर्ता गर्नुपर्ने र नाम दर्ताका लागि विद्यालयका कक्षा शिक्षक, कार्यक्रम संयोजक वा विद्यालयमा सम्पर्क गर्न सकिने छ भने दर्ता निःशुल्क हुनेछ ।

प्रतियाेिगतामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र पुरस्कार वितरण नतिजा आइसकेपछि विद्यालयमा गरिने कुरा उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले बताउनुभयो ।गुणस्तरीय र संस्कारयुक्त शिक्षामा जोड दिइरहेको यस विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृता, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।