काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेर बहादुर देउवालाई विदेशमा गरिने उपचारमा सरकारले खर्च नब्योहोर्ने कुराको स्मरण गराएकाछन्। उनले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कांग्रेसकै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था राखिएको र उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको बताएकाछन् ।
‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन।कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’ उनले भनेकाछन् ।एमाले बरिष्ठ नेता झलनाथ खनालको सन्दर्भ उल्लेख गर्दै उनले नेता खनालले निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र यसले खनालको कद अझ बढेको उल्लेख गरेकाछन् ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ’ उनले भनेकाछन्, ‘यसले उहाँको कद अझ बढेको छ।झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं। मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ।’
उनले नेता खनालको उपचारको लागि परिवार, स्वजन, पार्टी पंति लागिरहेकै भन्दै उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार रहेको उल्लेख गरेकाछन् ।यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टिकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ’ उनले भनेका छन् । प्रधानमन्त्रीलाई उनले भनेकाछन्, ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’