माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, के–के भयो निर्णय?

प्रकाशित मिति:

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।प्रवक्ता श्रेष्ठले दिएको जानकारी अनुसार साउन १७ गते स्थायी कमिटी र साउन २० गते केन्द्रीय कमिटी बैठक बिहान ११ बजेदेखि बस्नेछ । साथै आजको बैठकले असंवैधानिक अलोकतान्त्रिक प्रवृति रोक्न पार्टी सफल भएको निष्कर्षसमेत निकालेको छ ।

त्यस्तै आजको बैठकले माओवादीका नेता नरबहादुर कर्मचार्यको स्मृति दिवस साउन ९ गते पेरिसडाँडामा बिहान ९ बजे कार्यक्रमको आयोजना गरेर मनाउने निर्णयसमेत गरेको छ । तर बुधबारको बैठकमा सरकारमा थप सदस्य पठाउनेबारे छलफल नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।