आजदेखि काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सनको खोप लगाइँदै

प्रकाशित मिति:

काठमाडौं । आजदेखि काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिका मानिसलाई पनि कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप दिन थालिएको छ ।कोभ्याक्स अन्तर्गत आएको यो खोप यसअघि ५० वर्ष माथिकालाई प्राथमिकतामा राखेर लगाइने स्वास्थ्य मन्त्रालयले बताएको थियो ।तर, उक्त खोपमध्ये तोकिएका १ लाख ४० हजार डोज लगाएको र केही खोप बाँकी रहेकाले आजदेखि १८ वर्ष माथिकालाई पनि जोन्सको खोप दिन थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सरकारले जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्षका मानिस, अपांगता भएका व्यक्ति, जोनसन खोप अनिवार्य गरिएका मुलुक जाने व्यक्ति र शरणार्थीलाई लगाउन सुरू गरेको हो ।अब बाँकी रहेको खोप १८ वर्ष माथिका उमेर समूहका व्यक्तिले साविककै खोप केन्द्रहरूबाट लगाउन सक्नेछन् ।अहिले देशभर धमाधम खोप अभियान चलिरहेको छ । यस्तै, आजै राति मात्र नेपाल एयरलाइन्सको जहाज थप १० लाख डोज खोप लिन चीनको बेइजिङ जाँदैछ ।

खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने तालिका छ । लगत्तै भोलि साँझ अर्को १० लाख डोज खोप लिन जहाज बेइजिङ नै जाँदैछ । तीन खेपमा ३० लाख भेरोसेलको खोप ल्याइने छ ।