कांग्रेसले मनायो बिपी स्मृति दिवस, के के छन् बिपीका योगदान ?

प्रकाशित मिति:

काठमाडौं । कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३९ औं स्मृति दिवस बुधवार विशेष कार्यक्रम गरी मनाएको छ ।प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानित नेता मानिन्छन् । नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न उनले नेतृत्वदायी भूमिका खेलेका थिए । उनी २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित बिपी संग्राहलयमा विशेष कार्यक्रम गरी बिपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।त्यसैगरी सुशील कोइराला मेमोरियल फाउण्डेसनले बिपी स्मृति दिवसकै अवसरमा बुधवार गरेको कार्यक्रममा प्रोफेसर डाक्टर जयराज आचार्यले कोइरालाको व्यक्तित्वको चर्चा गर्दै तात्कालीन समयमा अलइण्डिया रेडियोले उनको निधनबारे प्रशारण गरेको समाचार जस्ताको त्यस्तै वाचन गरेर सुनाएका थिए । आचार्य तात्कालीन समयमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक थिए ।

 

जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगरेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका बिपी २००७ सालको क्रान्तिका शीर्ष नेता थिए । जुन क्रान्तिको बेलामा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । क्रान्तिपछि संविधानसभा निर्वाचन मार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि बिपीले संसदको चुनाव स्वीरेका थिए ।२०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । बिपी नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रि«यकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । तर पहिलो जननिर्वाचित सरकार २०१७ साल पुष १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद भंग गरेपछि बिपीले आठ वर्ष सुन्दरीजल जेलमा बिताएका थिए । रिहा भएपछि मुलुक भित्र बसेर सशक्त आन्दोलन गर्ने वातावरण नदेखेर उनी भारत प्रवास गएका थिए ।

त्यहीँबाट पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गरे । आठ वर्ष भारत प्रवासमा बिताएपछि मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्ने संकेत ठानेर बिपी २०३३ साल पुष १६ गते राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किए । प्रजातन्त्रका लागि लडेपनि राष्ट्रि«यताको सवालमा आफ्नो र राजाको घाँटी जोडिएको अभिव्यक्ति उनले दिएका थिए ।त्यसको केही वर्षमै मुलुकमा जनमत संग्रह घोषणा भयो । पञ्चहरुले धाँधली गरी बहुदल हराएको भन्दै परिणाम स्वीकार नगर्न पार्टी भित्र तीव्र दबाव परे पनि उनले परिणाम स्वीकार गरे । मुलुकको सार्वभौमिकताका सामू प्रजातन्त्र गौण हुन्छ भन्ने कुरालाई व्यवहारमै उतार्नु बिपीको चानचुने निर्णय नभएको चर्चा गरिन्छ । बिपीको निधन भएको चार दशक पुग्नै लाग्दा उनले प्रतिपादन गरेको मेलमिलापको नीति सान्दर्भिक रहेको छ ।