केन्द्रीय बैंकले भन्र्यो नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित छ

प्रकाशित मिति:

काठमाडौं : नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले नेपालको बैंकिङ प्रणाली सबै हिसाबले ठीक र सुरक्षित रहेको बताए । प्रणालीमा कसैले ह्याक नगरेको पनि उनले जानकारी दिए । एक दर्जन भन्दा बढी बैंकहरुको सिस्टम ह्याक गर्ने तयारी भइरहेको भन्दै राष्ट्र बैंकका प्रवक्ता र सहायक प्रवक्ता लगायतलाई इमेल आएपछि मुलुकको समग्र बैंकिङ क्षेत्रमै आतंक मच्चिएको थियो । यही हल्लाका बीचमा केन्द्रीय बैंक त्रसित नहुन भनेको हो ।

प्रवक्ता ढकालले नेपालको बैंकिङ प्रणाली पूर्णतयः सुरक्षित रहेको र केन्द्रीय बैंक साइबर सुरक्षाका मामलामा थप सचेत भएको पनि बताए । उनले भने, ‘बैंकरहरुले बुधबार साँझ ह्याकरले पठाएको भनिएको इमेल सेयर गरे, हामी रातिदेखि नै अलर्ट भएर बस्यौं, बिहान मलाई पनि फोन गरेर ह्याक गर्न लागेको सूचना ह्याकरले नै दियो, त्यसपछि हामी थप सचेत भयौं । तर अहिलेसम्म नेपालको सम्पूर्ण बैंकिङ प्रणाली पूर्णरुपमा सुरक्षित छ ।’

अहिले थप सुरक्षित हुन बैंकहरुसँग समन्वय गरेर काम गरिरहेको पनि उनले बताए । ‘ढुक्क हुनुस्, हाम्रो पूरै बैंकिङ प्रणाली सुरक्षित छ । सबै बैंक तथा वित्ती संस्थालगयत राष्ट्र बैंकको सिस्टमलाई माइन्युट्ली हेरिसकेका छौं । कहीँ पनि केही समस्या छैन’ उनले भने । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डूको नाम उल्लेख छ । यसैगरी, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको पनि नाम समावेश गरिएको छ । इमेलमा ‘अफलाइन र अनलाइन’ दुवै तरिकाबाट पैसा चोरी गरिने उल्लेख छ । इमेलमार्फत ह्याकरहरुले २४ घण्टाको समय दिइएको बताइएको छ ।