सेयर बजार तीन हजार बिन्दु माथि

प्रकाशित मिति:

काठमाडौं : सेयर बजारलाई वाणिज्य बैंकहरु लीड गर्न थालेका छन् । बैंकहरुमा क्रमशः चमक देखिन थालेपछि नेप्से सूचक फेरि ३ हजार विन्दु माथि आइपुगेको छ । सूचक १८.७५ अंकले बढेर ३००४.३१ विन्दुमा आइपुगेको छ । ११ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । म्युचुअल फन्डहरुको भाउ पनि आकर्षक बढोत्तरी देखिएको छ ।

बुधबार बजारले लगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने ३ हजार विन्दुलाई सजिलै पार गरेको हो । यसअघि नेप्से सूचक जेठ ३१ गते ३०२५.८३ विन्दुसम्म (बजार बन्द हुँदा) पुगेको थियो । त्यसपछि बजार करेक्सनतर्फ लागेको थियो । तर इन्ट्रा डे हाइ भने अझै बढी पुगेको थियो । बैंकहरु क्रमशः अघि बढ्न थालेका छन् । साउन महिनाको पनि करिब एक साता बितिसकेको छ । यो सेयर बजारका प्रमुख सिजन पनि हो ।

यतिबेला सेयर होल्ड गर्दा निकै छोटो समयमा लाभांश पाइने भएकाले पनि लगानीकर्ता बढी आकर्षित हुने गर्छन् । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थालेको छ । प्रारम्भिक संकेतहरु सकारात्मक देखिएका छन् । यसले पनि लगानीकर्ताहरु थप उत्साहित भएका हुन् । लामो समयदेखि सुस्त बनेको वाणिज्य बैंकहरु अघि लाग्दा समग्र बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । साउन लागेसँगै बैंकिङ प्रणालीमा तरलता सहज भएको छ । लगानीयोग्य रकम सजिलै उपलब्ध हुने भएपछि बजार पनि उत्साहित देखिएको छ । बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिइरहेका छन् । यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीति आउन केही विलम्ब हुने बताएको छ । तथापि, अहिलेको योजना अनुसार नीति आएमा पुँजी बजारलाई खासै नकारात्मक असर पर्ने विषय नआउने उसको भनाई छ ।

लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्न सक्नुपर्छ । आम लगानीकर्ताले लगानी गरिने कम्पनीको नाफा, रिजर्भ, इपीएस, नेटवर्थ तथा भविष्यमा व्यवसाय विस्तारका सम्भावनाहरुलाई पनि ख्याल गर्न आवश्यक हुन्छ । बजार सधैं एउटै गोरेटोमा नहिँड्ने भएकाले रणनीति तथा जोखिम बहन क्षमतालाई पनि ख्याल गर्नुपर्छ । कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १३ मध्ये ५ समूहको सूचक वृद्धि भएको छ । ७ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । ४६ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा पनि क्रमशः नेपाल बैंक र एनआइसी एसिया बैंक परेका छन् ।