माधव नेपाल पक्षलाई आममाफी दिने ओलीको घोषणा

प्रकाशित मिति:

नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने घोषणा छन् । बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएकाहरु (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिन सकिने बताएका हुन् ।

ओलीले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने पनि बताए । ‘यो काँक्राको कलिलो चिचिलो होइन, जसलाई औँला ताक्ने बित्तिकै कुहिन्छ,’ ओलीले भने, ‘पुष्पलालजस्ता आदर्श व्यक्ति, मदन भण्डारीजस्ता आदर्श व्यक्तित्वबाट प्रशिक्षित विचार र आन्दोलन हो । यो स्वार्थहरुको गठबन्धन होइन । समृद्ध नेपाल र सुखी नेपालीको गहन अभिभारा बोकेको र अगाडिका चुनौती सामना गर्ने हिम्मत भएको आन्दोलन हो ।’

ओलीले कम्युनिष्ट पार्टीमा नेतृत्वलाई घेराबन्दी गर्ने सिलसिला पुरानै रहेको बताए । ‘नेपालको इतिहासमा नेतृत्वमाथि प्रहार सधैं हुन्थ्यों । विगतमा पुष्पलाललाई आफ्नैले घेराबन्दी गरेका थिए । जुन सिलसिला कम्युनिष्ट पार्टीभित्र अहिले पनि कायम छ । नेतृत्वलाई बदनाम गर्ने, घेराबन्दी गर्ने काम अहिले पनि चलिरहेको छ,’ पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले भने,‘आजको नेकपा एमालेमा यो सिलसिला अन्त्य गर्नेछ । हामी आन्दोलनलाई फेरि सही दिशामा अघि लैजान्छौं । पुष्पलाल र मदन भण्डारीले अघि सारेका विचारका आधारमा नयाँ ढंगले हाम्रो आन्दोलन अघि जान्छ । ’