कांग्रेसले वडा अधिवेशन सार्ने

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसले वडा स्तरका अधिवेशन सार्ने भएको छ । आज बसेको कांग्रेसको पदाधिकारी बैठक वडा तहको अधिवेशन सार्ने सहमति गरेको हो ।प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा भएको बैठकमा नेताहरुबीच वडा तहको अधिवेशनको मिति संशोधन गर्ने भनिए पनि सार्ने मिति तोकिएको छैन । केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा सहमति भएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान तर्फ नेतृत्वले ध्यान नदिएको प्रति गुनासो गरेका थिए । उनले नयाँ सदस्यता दिने नाममा पुरानालाई पाखा लगाइएको भन्दै आपत्ति जनाएका छन् ।यस्तै समायोजनका नाममा विधि र प्रक्रिया मिचिएको र क्रियाशील सदस्यतामा देशभरि गडबडी गरिएको भन्दै पौडेलले सभापतिको ध्यानाकर्षण गराए ।

यसैगरी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी कार्यालयमा जारी धर्ना तथा अनसनको अन्त्य गर्नेतर्फ ध्यान दिन सभापति देउवालाई आग्रह गरेका छन् ।बैठकमा सदस्यताको विवाद जिम्मेवारी तोक्ने विषयमा पनि नेताहरू सहमत भएका छन् । सकेसम्म आज नै अनसनमा बसेका जिल्ला तहका नेताहरूसँग वार्ता र सहमतिको प्रयास गर्ने नेताहरुबीच सहमति बनेको छ ।